काठमाडौं- प्रधानमन्त्री केपी ओलीले किशोरी निर्मला बलात्कार र हत्या घटनाको दोषी अब नउम्कने दाबी गरेका छन्। संसदमा सरकारको २ वर्षको काम र भावी योजना सार्वजनिक गर्दै उनले अपराधी जोगाउन अनेक हत्कण्डा अपनाइए पनि अब जोगिन सम्भव नरहेको र कानुनी कठघरामा उभिनै पर्ने दाबी गरे।
एक साताअघि प्रहरी प्रधान कार्यालयले तत्कालीन एआइजी धिरु बस्न्यातको समितिको प्रतिवेदन खारेज गर्दै घटनाका आरोपी दिलीप विष्टमाथि पुनः अनुसन्धानको बाटो खोलेको थियो।
प्रधानमन्त्री ओलीले अपराधी जोगाउन अनेक हत्कण्डा अपनाएको र गिजोलेको दाबी गर्नु, प्रहरी प्रतिवेदन सच्चिनु र प्रहरीले आन्तरिक छानबिन दिलीप केन्द्रित भएर गरेकाले निर्मला घटनाको अनुसन्धान पुरानै आरोपीमा केन्द्रित भएको देखिन्छ।
'निर्मला हत्याकाण्डलाई जतिसुकै गिजोल्न र अपराधी जोगाउन अनेकौं हत्कण्डा प्रयोग भए पनि अन्ततः दोषी उम्किन अब संभव छैन,' प्रधानमन्त्री ओलीले भने 'पक्राउ परी हत्याराले कानूनी कठघरामा उभिनै पर्नेछ।'
सुरक्षा सामान्य
२ वर्षको अवधिमा सबैभन्दा सकस नेपाल प्रहरीले ब्यहोर्यो। केही ठुला अपराधका घटनाको अनुसन्धान निचोडमा पुगे पनि नेतृत्वको कमजोरीले काण्डै काण्डले थिचियो प्रहरी। गैरकानुनी हत्याको अनुसन्धानको तीर संगठन प्रमुखतिर सोझियो।
गम्भीर अपराध नियन्त्रणमा पहिल्यै सूचना संकलन गर्ने दायित्व बोकेको राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी देखिएन।
सशस्त्र प्रहरी विवादबाट जोगिन सके पनि उल्लेखनीय कार्यशैली देखिएन।
तर प्रधानमन्त्री ओलीको दृष्टीमा यस अवधिमा देशको शान्तिसुरक्षाको स्थिति सामान्य र सन्तोषजनक रह्यो।
सरकार छ र हामी सुरक्षित छौं भन्ने अनुभूति गर्नसक्ने सुरक्षित र ढुक्कको परिवेश बनाउन सरकार सफल भएको उनले बताए।
अपराधीहरु कानूनको कठघरामा उभिन र कानूनबमोजिम सजाय भोग्न बाध्य भएको र राष्ट्रिय सुरक्षाको समग्र पक्ष समस्यारहित रहेको उनको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।