काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुने भएका छन्।
स्वास्थ्यमा समस्या भएपछि बालुवाटारभन्दा बाहिरका कार्यक्रममा कम सहभागी हुने गरेका प्रधानमन्त्री ओली आइतबार उपत्यका बाहिर निस्कन लागेका हुन्। दुई वर्षे कार्यकाल पूरा गरेका प्रधानमन्त्री ओली आइतबार आफ्नै निर्वाचन क्षेत्र झापामा हुने कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा सडक, पुल उद्घाटन र पुल शिलन्यास गर्ने कार्यक्रम तय भएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका र दमक नगरपालिका जोड्ने पुल विगतमा उद्घाटन गर्ने भनिएपनि सर्दै आएको थियो।
फागुन ११ गते प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुम जानेछन्। प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि जन्मस्थान आठराईमा विशेष कार्यक्रम गर्न लागिएको छ। प्रधानमन्त्री जन्मथलो जाने भएसँगै आठराई गाउँपालिकामा प्रधानमन्त्रीको पुरानो घर निजकै हेलिप्याड निर्माण गरिएको छ।

प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकाले तयारी तीव्र पारेको आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वाले जानकारी दिइन्। प्रधानमन्त्रीले सोहि दिन सडक उद्घाटन गर्ने कार्यक्रम रहेकाे उपाध्यक्ष कन्दङ्वाले जानकारी दिइन्।
२००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।
गत भदौमा सिंगापुरबाट उपचार गरी फर्केका प्रधानमन्त्री ओली फर्केका थिए। मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा समेत भर्ना भएका थिए। गत मंसिरमा एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) संक्रमण भएपछि प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भई १० दिनपछि बालुवाटार फर्केका थिए। प्रधानमन्त्री ओलीको मृगौलाको नियमित डायलाइसिस भइरहेको छ। दुई साताअघि सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गर्ने बताएका थिए।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह अनुरुप कार्यक्रममा कम सहभागी हुने गरेका थिए। सरकारका नियमित कार्य तथा पार्टी सचिवालयको बैठकसमेत बालुवाटारमा बोलाउँदै आएका प्रधानमन्त्रीले राजधानीमा हुने कार्यक्रममा समेत कमै उपस्थित हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।