काठमाडाैं- कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका लागि चिकित्सकसहितकाे १७ सदस्यीय टाेली शनिबार चीन जाँदैछ। पाकिस्तानी पाइलट यावर कमलकाे नेतृत्वकाे टाेली चीन जान लागेकाे हाे ।
टाेली नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसाे २ : ४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ। एयरलाइन्सको वाइडबडी ए ३३० जहाज वुहान जान लागेकाे हाे। जहाज शनिबारराति २ बजे काठमाडाैं आइपुग्ने छ। चीन जाने टाेलीमा कमान्डर पाइलट यावर कमल, पाइलट महाेमद आरिफ, काेपाइलट सुनिल श्रेष्ठ, ६ जना विमान परिचारिका २ जना प्राविधिक इन्जिनियर, एकजना डिस्पाचर, एकजना लाेडमास्टर र चारजना नेपाली सेनाका डाक्टर रहेका छन्।
चीनका विभिन्न सहरमा रहेका नेपाली नागरिकलाई वुहानमा भेला गराई नेपाल ल्याइने छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् त्यहाँका १ सय ८० नेपालीको शनिबार उद्धार गर्न लागिएको हो।
सरकारले यसअघि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका डाक्टरसहितकाे टाेली पठाउने तयारी गरेका कारण उद्धारका लागि वाइडबडी लैजाने तय भएकाे थियाे। अन्ततः नेपाली सेनाका चारजना डाक्टरमात्र जाने भएका छन्।
चीनबाट फर्केकाे जहाज विमानस्थलमा अवतरण गरेपछि सिधै हेलिकाेप्टर पार्किङ वेकाे रिमाेट पार्किङस्थमा लगिने छ। उद्धार गरेर ल्याइएकाहरुलाई कसैसँग भेट्न दिइने छैन। उनीहरुलाई सुरक्षाकर्मीले नै भक्तपुरकाे खरिपाटी पुर्याउने छन्।
यसैबीच, सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पुर्याउने भन्ने बारेमा शुक्रबार पूर्वाभ्यास गरेको थियाे। चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पुर्याउने भन्नेबारे शुक्रबार प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।