राजविराज– गृहमन्त्रालयको दबाबपछि धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) मा सहभागी हुन सप्तरी आएका पाकिस्तान, बंगलादेशलगायत तेस्रो मुलुकका नागरिक फिर्ता भएका छन्। केही फिर्ता भइसकेको र केही फिर्ता हुने प्रकृयामा रहेको जनाईएको छ।
नेपाल र भारतका नागरिकमात्र सहभागी गराएर कार्यक्रम गर्ने सहमतिविपरीत आयोजकले त्यसबाहेकका मुलुकबाट पनि सहभागी बोलाएको भन्दै गृह मन्त्रालयले बिहीबार कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो। लगत्तै राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी र अन्य पदाधिकारीको पहलमा उनीहरुलाई फिर्ता पठाउने सहमति भएपछि गृह मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ।
बोदेबर्साइन नगरपालिका ५ जाँजरमा हुन लागेको कार्यक्रममा सहभागी हुन पाकिस्तानका १७, मलेसियाका ७५ तथा कुवेत, कतार र वंगलादेश गरी करिब २ सय व्यक्ति सप्तरी आएका थिए। उनीहरुलाई आयोजकले नै फिर्ता पठाउने प्रकृया सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए। इज्तिमा ब्यवस्थापन समितिका संयोजक मो. गफुरले भने केही व्यक्ति फिर्ता भएको र केही फिर्ता हुने प्रकृयामा रहेको जनाए।
नेपाल र भारतबाहेकका मुलुकका नागरिकलाई आफूुहरुले नबोलाएको उनले दावी गरेका छन् । कार्यक्रम हुने जानकारी पाएर आएकाहरुलाई पनि आफूुहरुले फिर्ता पठाउन सुरु गरेको उनले बताए।
तेश्रो मुलुकका नागरिक फिर्ता पठाउने भएपछि शनिबारदेखि मात्र इज्तिमाको औपचारिक सुरुवात हुने भएको छ। राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सहमतिपछि नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका सवारी साधन समेत छोडिएका छन्।
कार्यक्रमका लागि करीब २ करोड खर्च गरी झण्डै २ सय बिगाहा जग्गामा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल र टहरा निर्माण गरिएको छ। शुक्रबार साँझसम्ममा करिब ५० हजारभन्दा बढी मुस्लिम धर्माबलम्बी आईपुगेका छन्। कार्यक्रम स्थलमा करिब ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
फागुन ३, ४ र ५ गते हुने कार्यक्रमको प्रमुख प्रवचनकर्ता भारतको दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना मो. सादले सुभारम्भ गर्ने कार्यक्रम रहेको संयोजक गफुरले वताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।