एजेन्सी– टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले कश्मीर मुद्दामा टर्की पाकिस्तानको साथ रहेको बताएका छन्। पाकिस्तानको भ्रमणमा रहेका उनले पाकिस्तानी संसदको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै कश्मीर मुद्दामा समर्थन जनाएका हुन्।
‘हाम्रा कश्मीरी भाइबहिनीहरु दशकौंदेखि पीडित छन्, फेरि एकपटक हामी कश्मीर मुद्दामा पाकिस्तानको साथ छौं, हामीले यस मुद्दालाई संयुक्त राष्ट्रसंघ सभामा उठाएका थियौं, कश्मीरको मुद्दा युद्धले समाधान गर्न सकिदैंन, यसलाई न्याय र निष्पक्षताबाट सुल्झाउन सकिन्छ, टर्की न्याय, शान्ति र संवादको समर्थन गर्नेछ,’ उनले भने। इर्दोगानले आफूले कश्मीरीलाई कहिल्यै भुल्न नसक्ने पनि बताए।
इर्दोगानले कश्मीरका विषयमा मन्तव्य दिँदा पाकिस्तानी संसद तालीले गुन्जायमान भएको थियो। सांसदहरुले लामो समयसम्म टेबल ठोकेर इर्दोगानलाई समर्थन गरेका थिए।
उनले आतंकवादविरुद्ध पाकिस्तानले लडेको युद्धको प्रशंसा गर्दै भने, ‘पाकिस्तान धार्मिक कट्टरताको शिकार भयो, यस देशले धेरै बलिदान ग¥यो, मुस्लिम भाइचारलाई कसैले तोड्न सक्दैन, हामीले एक अर्काको साथ दिन आवश्यक छ, मुसलमान जहाँका पीडित भए पनि समर्थन गर्नुपर्छ।’ उनले टर्कीले लिबिया, यमन, सिरिया र प्यालेस्टाइनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निर्दोष मुसलमानलाई बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
इस्लामिक विश्वबीचको मतभेद मेटाउनु पनि जरुरी रहेको उनले बताए। ‘हामीले खासगरी प्यालेस्टाइन, साइप्रस कश्मीरमा न्यायसंगत समाधान गर्न जरुरी छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मध्यपूर्वमा कुनै शान्ति योजना छैन, परन्तु कब्जाको योजना छ, इजरायलले हाम्रा अल कुड्स र अल सरीफमाथि हमला गरे हामी पनि कडा नीति अपनाउनेछौं,’ उनले भने।
इर्दोगानले पाकिस्तान आफूलाई घरजस्तै लाग्ने र कुनै नयाँपन नलाग्ने उल्लेख गर्दै पाकिस्तानले टर्कीको अप्ठेरो समयमा पनि साथ दिएकोमा प्रशंसा गरे।
पाकिस्तानी संसदमा इर्दोगान प्रधानमन्त्री इमरान खानसँगै पुगेका थिए। यसअघि उनले सन् २०१६ मा पाकिस्तानी संसदलाई सम्बोधन गरेका थिए।
इर्दोगान पाकिस्तानको २ दिने भ्रमणका क्रममा बिहीबार पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।