जनकपुर- अवैध नदीजन्य पदार्थ उत्खननविरुद्धका अभियन्ता दिलिप महतोको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ। तीन जनालाई भने धरौटीमा रिहा गरिएको छ।
जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। हत्या आरोपमा पक्राउ परेका रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार धरौटीमा तारेखमा छाड्ने आदेश अदालतले दिएको छ।
अदालतका अनुसार हत्यामा मुनिन्द्र, जितेन्द्र र विपीनको संलग्नताबारे केही ठोस आधार र प्रमाणहरु देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश गरेको हो।
त्यसैगरी घटनाको दिन दिलीपसँगै गएका रोशनकुमार यादवको हकमा झगडा छुट्याउन प्रयास गरेको, घटना भएलगत्तै स्थानीय र अन्यलाइ खबर गरेको साथै रोशन–दिलीपबीच कुनै किसिमको विवाद रिस नरहेको र हत्या घटनामा सत्यनारायण र शत्रुधनको समेत संलग्नता नदेखिएको अदालतले जनाएको छ।
धनुषाको औरही खोलामा भइरहेको अबैध उत्खननको विरोध गर्दा गत पुस २५ गते मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलिपको हत्या गरिएको थियो। दिलीपलाई कोखमा फलामको रड लिभरले घोचेर घाइते बनाएपछि टिपरले किचेर हत्या गरिएको थियो।
स्थानीय २७ वर्षीय विपीन महतोले सञ्चालन गरेको चुरिया माई क्रसर उद्योगले खोलामा राति अवैध उत्खनन गर्दै आएको थियो।
सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता शम्भु गौतमले तीन आरोपितलाई धरौटीमा छाडिएपछि पुनरावेदन गर्ने तयारी गरिएको जनाएको छ। पीडित परिवारले हत्यामा संलग्न अन्य व्यक्ति पक्राउ नगरेको भन्दै प्रहरीमाथि आशंका व्यक्त गरेका छन्।
दिलीपका बुबा रामजीवनले अदालतको आदेशदेखि असन्तुष्टि जनाउँदै भने, ‘घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्थ्यो। अन्य व्यक्ति फरार छन्। हत्या भएको दिन मुचुल्का नै नगरी लास उठाइयो।’
यता, महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गरिएको छ। धनुषाको ढल्केबरमा स्थानीय र अभियन्ताले प्रदर्शन गर्दै पर्यावरण सहिद घोषणा गर्न र उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।