काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा मृत्यु तथा घाइते भएका नेपालीहरुको बारेमा यथार्थ जानकारी गराउन निर्देशन दिएको छ।
शुक्रबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै कुवेतस्थित एक कम्पनीमा कार्यरत ६ जना नेपाली कामदारहरु कामको सिलसिलामा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको भनिएको घटनाका सम्बन्धमा चासो व्यक्त गरेको हो।
उक्त घटनाको सम्बन्धमा यथार्थ जानकारी गराउन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेको छ।
आयोगले वैदेशिक रोजगारीमा गएका कामदारहरुको सुरक्षा तथा उनीहरुको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ।
साथै, आयोगले उक्त घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकार समेतको संरक्षण हुनेगरी आवश्यक व्यवस्था मिलाउन समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।