राजविराज– फागुन ३ देखि सुरु हुने भनिएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) स्थगित भएको छ।
गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गराएको हो। कार्यक्रम स्थगित भएको सप्तरीका सिडिओ सुनिल खनालले पुष्टि गरे कार्यक्रम स्थगनको कारण भने उनले बताएनन्।
कार्यक्रम स्थगन भएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले जाँजरमा ठुलो संख्यामा प्रहरी खटाएको छ भने दिउँसो ४ बजेदेखि नेपाल–भारत सिमा सिल गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
प्रशासनले मुस्लिम समुदायका अगुवाहरुसँग वार्ता समेत गरिरहेको बोदेबरसाइन-५का वडाध्यक्ष मो. मजिवुर रहमानले बताए।
मुस्लिम समुदायले फागुन ३, ४ र ५ गतेका लागि बोदेबरसाइन–५, जाँजरमा इज्तिमाको आयोजना गरेको थियो। तयारी पूरा भएपछि सरकारले कार्यक्रम स्थगित गराएको इज्तिमा व्यवस्थापन समितिका सचिव मो. हुसेनले बताए।
कार्यक्रमका लागि करीब २ करोड खर्च गरी झण्डै २ सय बिगहा जग्गामा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल र टहरा निर्माण गरिएको छ भने साना ठूला गरी करीब २ हजार शौचालय निर्माण गरिएको स्थानीयले जानकारी दिए।
करीब १५/२० हजार धर्मावलम्वी आइसकेपछि कार्यक्रम स्थगित गराइएको भन्दै उनले असन्तुष्टि जनाए। ‘हाम्रो विशुद्ध धार्मिक प्रवचन कार्यक्रम हो। सरकारलाई शंका लागेको विषयमा सुरक्षा निकाय खटाएर आफ्नो काम गर्न सक्थ्यो‚’ उनले भन‚ ‘तयारी गर्नुअघि नै अनुमति नदिएको भएपनि हुन्थ्यो।’
यसअघि माघ ६ गते गृह मन्त्रालयले नै जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी उक्त कार्यक्रमको सुरक्षा मिलाउन आदेश दिएको थियो।
मुस्लिम आयोगको समन्वय, निगरानी र सुपरिवेक्षणमा संचालन हुने र अन्य कुनै गैरकानुनी गतिविधि नहुने भएकोले कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन गरिएको थियो।
अन्तर्राष्ट्रिय स्तरको र हजारौंको संख्यामा कार्यक्रम आयोजना हुन लागेको जानकारीपछि सुरक्षाको गाम्भिर्यतालाई मध्यनजर गर्दै केही समयअघि पहिलो पटक कार्यक्रममा रोक लगाइएको थियो।
प्रशासनले कार्यक्रम स्थगित गराएपछि मुस्लिम आयोगको पहलमा गृहमन्त्रालय मार्फत पुनः कार्यक्रमको अनुमति लिइए पनि राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सहमतिमा दोश्रो पटक अनुमति लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।