काठमाडौं- पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको अवसर पारेर आयोजित ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली सभा’मा नेकपाका उपाध्यक्ष बामदेव गौतमले पूर्व एमालेको कार्यकर्ताहरूको विषय उठाउँदै भने, ‘जनयुद्धमा ज्यान गुमाएका पूर्व एमालेका नेता कार्यकर्ताको पनि लेखाजोखा हुनुपर्छ।’
उनले सम्मान र व्यवस्थापनको मोडलबारे त्यत्ति व्याख्या गरेनन्। ‘जनयुद्ध दिवस मनाइरहँदा जनयुद्धको अवधिमा पूर्व एमालेका ३ सय बढी नेता कार्यकर्ताले रगत बगाएका छन्। तिनका परिवार, तिनको कामको पनि लेखाजोखा हुनुपर्ने आवश्यकता छ,’ उनले भने।
राज्यविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको दिनलाई मानक बनाउँदै पूर्व एकीकृत माओवादीले मनाउँदै आएको ‘जनयुद्ध दिवस’ एमाले र माओवादीबीच पार्टी एक भएपछि फरक नाममा मनाउन थालिएको हो।
धुम्बाराहीमा आयोजित कार्यक्रममा पूर्व माओवादीका नेताबाट तत्कालीन समयका आफ्ना पार्टीका नेता-कार्यकर्ताको मात्र योगदानको चर्चा हुनु स्वभाविकै हो।
जनयुद्धकालमा माओवादीबाट सेना, प्रहरी मात्रै मारिएनन्, शिक्षक, विद्यार्थी, पत्रकार अनि नेपाली कांग्रेस, एमालेलगायतका दलका नेता तथा कार्यकर्ता पनि मारिए।
अहिले पार्टी एक भए पनि द्वन्द्वकालमा माओवादीको सूचीमा तत्कालीन एमाले वर्ग शत्रु समान नै थियो।
माओवादी–एमाले मिलनपछि एकीकृत पार्टी नेकपा बने पनि द्वन्द्वताका मारिएका, बेपत्ता बनाइएका, अयोग्य ठहरिएका लडाकुको व्यवस्थापनको पाटो अझै सुल्झाउन सकेको छैन।
तत्कालीन माओवादीका नेताहरूले त्यसैले सार्वजनिक मञ्चमा खपत हुने उनीहरुको शब्द पनि तत्कालीन द्वन्द्वकालका पीडित र प्रभावित परिवारका सदस्य केन्द्रितै हुने गरेको छ।
द्वन्द्वताका एमालेका जति नेता कार्यकर्ताले ज्यान गुमाए, ती माओवादीबाटै मारिएका थिए। पार्टी एकीकरणपछि पीडक र पीडित एकैथलोमा छन्। यस्तो बेलामा पीडितका परिवारलाई पीडक तत्कालीन माओवादीका नेतालाई स्वीकार्न कठिन हुनु स्वभाविक हो। कतिपय नेकपाका नेता कार्यकर्ताले ‘जनयुद्ध’ समेत स्वीकार्न सकेका छैनन्।
बिहीबारकै कार्यक्रममा समेत प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका पूर्व एमालेका नेता कार्यकर्ता देखिएनन्। यस्तो अवस्थामा एकाएक नेकपाका उपाध्यक्ष गौतमले द्वन्द्वकालका मारिएका तत्कालीन एमालेका नेता तथा कार्यकर्ता र उनीहरूको परिवारलाई पनि सम्झिए। उनीहरूको योगदानको कदर हुनुपर्ने विषयको उठान गरे। अनि प्रभावित परिवारको व्यवस्थापनको नयाँ मुद्दा बहसमा ल्याए।
चार सय ९५ मारिएका थिए
तत्कालीन एमालेले १० वर्षे द्वन्द्वकालमा मारिएका आफ्ना नेता कार्यकर्ताको अभिलेख बनाएको छ। अभिलेखअनुसार तत्कालीन एमालेका ४ सय ९५ कार्यकर्ता मारिएका थिए। मारिएकामध्ये २ सय ९५ माओवादीबाट मारिएका हुन् भने अन्य राज्यपक्ष र क्रसफायरमा मारिएका हुन्।
द्वन्द्वकालमा यो तथ्यांक तत्कालीन एमालेका नेता देवशंकर पौडेललाई जिम्मा दिएको थियो। यो तथ्यांक उनकै अध्ययन प्रतिवेदनको हो। तत्कालीन एमालेले अर्का नेता झलनाथ खनालको संयोजकत्वमा समेत ‘माओवादी तथा राज्यद्वारा सृजित हिंसा र आतंकसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको थियो।
झलनाथको प्रतिवेदनमा तत्कालीन माओवादीबारे उल्लेख थियो, ‘रातो झन्डा बोकेर कम्युनिस्ट कार्यकर्ताकै हत्या गर्ने कार्यमा निर्लज्जतापूर्वक उत्रिएको माओवादी डफ्फाले सैद्धान्तिक, राजनीतिक विश्लेषण बिना विवेक गुमाएर देश र जनताको मुक्तिको लागि समर्पित कैयौं क्रान्तिकारी योद्धाहरूको ज्यान लिने काम गरेको छ।’
को–को मारिए?
२०५५ पछि माओवादी एकाएक तत्कालीन एमालेका नेता कार्यकर्ताविरुद्ध आक्रामक भएको देखिन्छ। खनाल प्रतिवेदनअनुसार यही अवधिमा माओवादीले विभिन्न आरोप लगाएर एमाले कार्यकर्ताको हत्या गरेका थिए। यही बीचमा एमाले निकट कार्यकर्ता सामूहिक रूपमा समेत मारिएका थिए।
माओवादीबाट मारिएका तत्कालीन एमालेका नेतामध्ये चर्चा भइरहने घटना हो रुकुमका यदु गौतमको हत्या। तत्कालीन एमाले रुकुम जिल्ला कमिटीमा सचिव रहेको बेला माओवादीले २०५५ फागुन २१ गते उनको हत्या गरेको थियो। गौतम २०५६ को संसदीय निर्वाचनाका लागि रुकुम क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार बनेका थिए। चुनाव प्रचारका क्रममा रुकुमको साविक गरायला गाविस-७ को मेघमा पुगेको बेला खुकुरी हानेर उनको हत्या गरिएको थियो। उनको हत्यापछि तत्कालीन एमालेले उनकी श्रीमती तीर्था गौतमलाई उम्मेदवार बनाएको थियो र उनले निर्वाचन जितेकी थिइन्।
माओवादीबाट मारिएका तत्कालीन एमालेका अर्का नेता हुन् सल्यानका हरिसिंह नेपाली। माओवादीविरुद्ध सुराकी गरेको आरोपमा माओवादीले २०५५ फागुन ११ मा उनको हत्या गरेको थियो। काभ्रेका बलराम सापकोटा र श्रीबहादुर कुँवर, दोलखाका मित्रमान तामाङ, बाजुराका मानसिंह थापा माओवादीबाट मारिएका थिए।
२०५५ मंसिर २ मा रुकुमका दलराम खड्का, मंसिर २८ मा रुकुमकै शेरबहादुर खड्का, २०५६ माघमा चीनबहादुर रोका, ०५६ असार ५ मा सल्यानका विष्णु गिरी, ०५८ मा सल्यानका शोभाराम बस्नेतसमेत मारिएका थिए।
०५५ माघ २७ मा रोल्पामा ८ जना एमाले कार्यकर्ता मारिए। यो घटना हारजंग काण्डको रुपमा परिचित छ। बिहानै एक स्थानीयको घरमा आगो लगाएर बाहिर निकिस्कएका जति सबैलाई माओवादीले गोली हानेको थियो। सो घटनामा १४ वर्षका किशोरदेखि ६० वर्षका वृद्धासम्म मारिएका थिए। त्यो दिन पुष्टबहादुर गिरी, अमृतबहादुर गिरी, ढाँटे पुन, मनबहादुर गिरी, ऐभान पुन, चैते पुन, बेगमबहादुर पुन, तिर्खु गिरी, हस्ते रोका र खिरु पुन मारिएका थिए। ०५५ मा जाजरकोटका बिजुलीप्रसाद रेग्मी मारिएका थिए।
०५६ माघ १० मा रोल्पाको मिझिङमा माओवादीले थापेको एम्बुसमा परेर बामदेव गौतम र विश्वमाया सुवेदी मारिएका थिए। दुबै जना सरकारी कर्मचारी थिए। उनीहरू तत्कालीन एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनका सदस्य भएकाले उनीहरुलाई आफ्नो पार्टीको कार्यकर्ताको सूचीमा राखेको थियो।
रोल्पाका सूर्यबहादुर खत्री माओवादीबाट ०५७ बैशाख २५ मा मारिए। कालिकोटका पर्वलाल शाही ०५६ फागुन २९ मा मारिए। ०५६ भदौंमा कालिकोटकै खड्क बोगटी र रोम बोगटी माओवादीबाट मारिएका थिए। चैतमा विष्णुप्रकाश बरालको हत्या भयो। ०५६ जेठ १४ मा सिन्धुपाल्चोकका गंगाबहादुर सुवेदीको हत्या भयो।
पूर्ण विवरण (नवयुग, असार २०६७ को सहयोगमा नेपाल लाइभले तयार पारेको विवरण)
नेकपाको वेबसाइटमा छैन रिर्पोट
तत्कालीन माओवादीबाट मारिएका आफ्नो पार्टीका नेता कार्यकर्ताको विवरण एमालेले आफ्नो आधिकारिक वेबसाइट 'सिपिएनयुएमएलडटओआरजी'मा राखेको थियो। अहिले पनि सो साइटमा माओवादी विद्रोहका पिडितहरू भन्ने लिंक त छ तर सो लिंकमा प्रतिवेदनको प्रारम्भका भूमिका राखिएको छ, अन्य सामग्री हटाइएको छ।
सो लिंकमा राखिएको प्रतिवेदनको प्रारम्भिक अंशमा माओवादी द्वन्द्वकालमा एमालेका चार सय ९० जना मारिएको लेखिएको छ। प्रतिवेदनअनुसार ०५२ देखि द्वन्द्वकालमा माओवादीबाट २ सय ९५, राज्यबाट १ सय ८८ अनि अज्ञात समूहबाट एक जना र क्रसफायरमा परी आठ जनाको मृत्यु भएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।