बाँके- साउन २८ गतेको अविरल वर्षापछि राप्ती नदीमा आएको बाढी बाँके निकुञ्ज नजिकै राप्ती किनारामा रहेको टिकुलीपुरमा पस्यो। बाढीले गाउँका ७० भन्दा बढी घर पूर्ण रुपमा भत्काइदियो। २ सय ७० भन्दा बढी घर गोठमा क्षति पुग्यो।
बिहान ३ बजेतिर बाढी पसेपछि एकाएक गाउँलेको भागाभाग भयो। सुरक्षित स्थानको खोजी गर्दै केही गाउँकै पक्की घरमा गए। केही भने नजिकैको बाढी नपस्ने अग्लो ठाउँमा रहेको जंगलमा गए। बाढीले घरायसी सामग्री, खाद्यान्न र खेतीबालीमा मात्र नष्ट भएन मानवीय क्षति समेत भयो।
खाद्यान्न, लत्ताकपडा मात्र होइन खेतीबाली समेत गुमाएका टिकुलीपुरका करिब तीन सय ४० परिवार विस्थापित भएर गाउँकै सामुदायिक जंगलमा त्रिपाल टाँगेर बस्न थालेका छन्।
घटना भएको तीन हप्ता पुग्यो तर बाढीपीडितहरुले घरमा च्यापिएका र पुरिएका सामान अझै निकाल्न सकेका छैनन्। आकाशमा कालो बादल मडारिनासाथ उनीहरुमा त्रास बढ्छ।
टिकुलीपुरका बासिन्दा बाढी र डुबानमा परेको यो पहिलो पटक होइन। उनीहरु बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएका छन्।
एकै दिनको बाढीका कारण सर्वस्व गुमाएका विस्थापित परिवार अहिले दाताहरुले दिएको चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्नले श्वास धानिरहेका छन्। दाताको खाद्यान्न दिन रोक्ने हो भने भोकै सुत्ने अवस्था आइलाग्ने पीडितहरु बताउँछन्।
बाढी र डुबानका कारण अनेकौं समस्या खेप्न बाध्य भए पनि टिकुलीपुरका बासिन्दाको सरकारसमक्ष एउटै माग छ— बाढी नपस्ने सुरक्षित स्थानमा घर बनाउने जग्गा।
बाढीपछि निरीक्षणका नाममा गाउँ आउने सरकारी अधिकारी र नेतासँग उनीहरुले यसअघि पनि सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइदिन बारम्बार आग्रह गर्दै आएका छन्। सुरक्षित स्थानमा घर बनाउने जग्गा उपलब्ध गराइदिने आश्वासन पनि उनीहरुले नपाएका होइनन्। तर वर्षौं बित्यो कुनै काम हुन सकेको छैन।
अहिले त्रिपाल टाँगेर बसेकै स्थानमा घर बनाउन पुग्ने मात्रै जग्गा सरकारले उपलब्ध गराए वर्षाैंदेखि खेप्दै आएको सास्तीबाट मुक्ति पाउने पीडितहरुको भनाइ छ। सरकारी अधिकारीहरु भने बाढी प्रभावितहरुको पुनस्र्थापनातिर नलागी अझै तथ्यांक संकलनमै अल्झिरहेका छन्।
बाढी र डुबान बाँकेको सबैभन्दा ठूलो र जटिल समस्या हो। यहाँका बासिन्दा बर्सेनिजसो यो समस्याबाट गुज्रिरहेका छन्। तर अहिलेसम्म दिगो समाधानको कुनै पहल हुन सकेको छैन। सरकारी उदासीनताका कारण बाँके र बर्दियाका बासिन्दा बिचल्लीको कहालीलाग्दो अवस्था खेप्न बाध्य छन्।
अनुगमन मात्र, राहत शून्य
बाढी र डुबानपछि प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितको गुनासा सुन्ने काम विगत वर्षहरुमा झैं यसपालि पनि दोहोरियो।
प्रधानमन्त्री शेरबहादुर देउवा मात्र पुगेनन्; गृह, सिँचाइ, पशुपंक्षी विकास, भूमिसुधार मन्त्रीको टोली पनि प्रभावित स्थल पुगेर निरीक्षण गर्यो। नेपाली सेनाका प्रधान सेनापति लगायत सुरक्षा निकायका प्रमुखहरुको टोलीले समेत बाढी प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरे।
‘सरकारी अधिकारीहरु बाढी र डुबानका बेला हेलिकोप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गर्छन्; चिउरा, खाद्यान्न र त्रिपाल बाँड्छन्,’ बाँके होलियाका राजकुमार शुक्लाले भने, ‘अर्काे बाढी आउनुअघि नै सुरक्षित स्थानमा बसोबासको मिलाउँछौं भनेर गफ दिन्छन्। यस्तो आश्वासन सुनेको १५ वर्ष बितिसक्यो, समस्या उस्तै छ।’
बाढी प्रभावितको नाममा सरकारले बर्सेनि करोडौं लगानी गरे प्रभावितले प्रत्यक्ष रुपमा लाभ उठाउन सकेका छैनन्।
गत वर्ष सरकारले बाढीबाट घरजग्गा पूर्ण क्षति भएका परिवारलाई जग्गा खरिदका दिने रकम दिने योजना पनि कार्यान्वयन हुन सकेको छैन। ५० हजार पहिलो किस्तामा र खरिदपछि घर निर्माणका लागि तीन किस्तामा गरी ७५ हजार गरी जम्मा १ लाख २५ हजार दरले राहत रकम उपलब्ध गराउने सरकारको निर्णय थियो। यस्तै, घरमा क्षति पुग्नेहरुलाई पुनर्निर्माणका लागि ५० हजार उपलब्ध गराउने भनिएको निर्णय पनि कागजमै थन्किएको छ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले २०७२ सालमा तयार पारेको तथ्यांक अनुसार बाँके, बर्दिया, सुर्खेत, दाङ र सिन्धुपाल्चोकमा गरी ३ हजार ५ सय ८७ परिबार बाढीको उच्च जोखिममा छन्। महाशाखाले उनीहरुलाई तत्कालै सार्न सिफारिस गरे पनि त्यस अनुरुप कुनै काम भएन। जसका कारण यो वर्ष बाँके र बर्दियामा बाढी र डुबानबाट निक्कै ठूलो परिमाणमा धनजनको क्षति भयो।
पूर्वतयारीका लागि बजेटकै समस्या
राप्ती र बबई नदीमा आउने बाढीबाट बाँके र बर्दियाका दर्जनौं गाविस उच्च जोखिममा छन्। यहाँका गाउँहरु वर्षौंदेखि नदीको कटान र बाढीको उच्च जोखिममा भए पनि नदी बाँध निर्माण लगायतका प्रभावकारी नियन्त्रण कार्य हुन सकेको छैन।
बाढीबाट हुने क्षति कम गर्न देशैभर रहेका ठूला नदीहरुमा बाढी मापन केन्द्रहरु स्थापना गरिएका छन्। बाँकेको कसुमस्थित राप्ती नदीमा पनि बाढी मापन केन्द्र छ। केन्द्रले आवश्यक सूचना जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र तथा सुरक्षा निकायहरुलाई दिने गरे पनि सरकारी बेवास्ताका कारण प्रभावकारी काम भएको छैन।
यो वर्ष बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा जडान गरिएको मेसिनले काम नगर्दा बाढीको अवस्थाबारे समयमै सहज सूचना पाउन सकिएन। जसका कारण स्थानीयले तयारी गर्न पाएनन् र बाढी बस्तीमा पस्दा एकसाथ भागदौड मच्चियो।
घर भत्किएर च्यापिएका बालिकाहरुको समयमै उद्धार हुन नसक्दा एकै परिवारका तीन जना बालिकाले ज्यान गुमाउनुपर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।