काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार सञ्चालन गरेको शनिबार दुई वर्ष पुग्दैछ। यसबीचमा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना पनि भइरहेको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकार बनेपछि आर्थिक सूचाकांकमा भएको प्रगति विवरण प्रस्तुत गरे। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रगतिका सूचकांकको फेहरिस्त सुनाए।
मन्त्री बाँस्कोटाको भनाइ जस्ताको तस्तै
भ्रष्टाचार सम्बन्धि सूचकांक ११ स्थान सुधारिएको छ। 'सुखी नेपाली, समृद्ध नेपाल'ले नतिजा निकाल्न थालेको छ। खुसी सूचकमा हामी तीन स्थान उक्लेका छौं।
लगानीको वातावरण बनेको छ। हामीले सोचे जति नभए पनि जनताको जीवनस्तर सुधारिएको छ। जनताको जीवनस्तर सूचकमा नेपाल १४९ स्थानबाट २ माथि उक्लिएर १४७ मा पुगेको छ। 'डुइङ बिजनेस इन्डेक्स'मा १६ स्थान उक्लिएका छौं।
शान्ति सुरक्षाको व्यवस्था सुधारिएको छ। ग्लोबल पिस इन्डेक्समा १२ स्थान उक्लिएका छौं। डेमोक्रेसी इन्डेक्समा पाँच स्थान उक्लेको छ।
तथ्यांकहरूले अधिनायकवादको हौवा पिट्नेलाई हावा खुवाएको छ। हामीले बनाएको इन्डेक्स त होइन नि! अधिनायकवादको हौवाले हावा खायो होला नि त अब। विद्युत खपत बढेको छ। नागरिकको क्रय शक्ति बढेको छ। पछिल्लो ६ महिनामा मात्रै २२ युनिटले खपत बढेको छ।
रेल यसवर्षमै कुद्छ। मेट्रोको अध्ययन सकिएको छ। केरुङ-काठमाडौं रेलको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ। रेल सञ्चालन विधेयक पारित नै भएको छ। पानी जहाजको कार्यालय खुलिसक्यो। प्रशान्त महासागरमा पोर्टहरु लिइसकेका छौं। क्रुजले पनि जग्गा पाइसक्यो।
३ हजार ६ सय ३६ किमी सडक दुई वर्षमा कालोपत्रे भएको छ। हरेक दिन ५ दशमलव ७ किमी बाटो कालोपत्रे भएको छ। ३ सय २५ वटा सडक पुल बनेका छन्। नागढुङगा सुरुङ मार्गको काम अघि बढेको छ। टनेल युगको सुरु भएको छ। जनता आवासअन्तर्गत आठ हजार घर निर्माण भएका छन्।
गणतन्त्रपछि एक दशक ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम थियो। हाल ७ दशमलव १ प्रतिशतले आर्थिक वृद्धिदर भएको छ। तीव्र आर्थिक वृद्धि गरेका १० देशमध्ये नेपाल परेको छ।
परराष्ट्र वृत्तमा हामी सुनिने र देखिने भएका छौं। कैयौं मुद्दामा हामीले लिड गर्न थालेका छौं। जस्तो कि ग्लोबल चेन्ज। हाइलेन्ड र आइलेन्डको हामी सेतु हुन सक्छौं। कार्बन उत्सर्जनमा हामीले लिड गरेका छौं। बिमेस्टेक भव्यताका साथ सफल पार्यौं। भारतीय प्रधानमन्त्री मोदी दुई पटक आउनुभयो। चिनका राष्ट्रपति सी चिनफिङ आउनुभयो।
प्रधानमन्त्री डाबोस पुग्नुभयो। युएनमा नेपालको तर्फबाट महत्वपूर्ण सम्बोधन गर्नुभयो। युएनको अध्यक्षता गरिरहेका राष्ट्रको प्रमुखले तीन देशलाई मेन्सन गर्ने क्रममा नेपालको प्रधानमन्त्रीको सम्बोधनलाई पनि मेन्सन गर्नुभयो। मलेसियाका प्रधानमन्त्री महाथीरले पाएको सम्मान गत वर्ष प्रधानमन्त्रीले पाउनुभयो। ‘भिजनरी लिडर अवार्ड’ पाउनुभयो। सगरमाथा सम्वाद पनि गर्दैछौं।
आपूर्तिमा सुधार भएको छ। पाइपलाइन बन्यो। दैलेखमा पेट्रोलियम पदार्थ छ कि छैन नाप्न थाल्यौं। पेट्रोलियम पदार्थ भएको थाहा भयो।
सबै क्षेत्रमा विकासमा हात हालेका छौं। फोर जी ७७ जिल्लामा पुग्यो। साइबर सेक्युरिटी सेन्टर स्थापना गरेका छौं।इपेमेन्ट गेटवे फ्रेमवर्क सुरु गरेका छौं। क्लिनफिड सुरु गरेका छौं। मिडियाहरुले विज्ञापन पाउनेछन्। मन्त्रीको हिमचिमले विज्ञापन पाउने अवस्था रहन्न।
नेपाली सीमा कालापानी, लिम्पियाधुराका विषयमा स्पष्ट अडान राखेका छौं। पेस्तोल भिरेर जान खोजेर सीमाको समस्या समाधान हुँदैन। अन्तराष्ट्रिय सहयोग पनि परिचालन गर्दैछौं।
आफ्नै सेटलाइट प्राप्त गरेका छौं। सेक्युरिटी प्रिन्टिङको विषय संसदको समितिमा छलफलमा छ। समितिलाई हामी सघाउँछौं। निर्णय भएपछि हामीलाई आयात प्रतिस्थापन गर्न सहयोग पुर्याउँछ।
स्वास्थ्य बीमाले लाखौंलाई सुविधा प्राप्त भएको छ। नेपालको निर्यात बढ्न थालेको छ। हामीले प्रसस्त गरेका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।