रोल्पा– नेपाली समाजको आमूल परिवर्तन गर्ने भन्दै सशस्त्र युद्धको घोषणा भएको २५ वर्ष पुरा भएको छ। दश वर्षे सशस्त्र द्वन्द्व पार गर्दै शान्ति प्रकृयाको १५ वर्ष पनि पुरा भईसकेको छ। युद्ध र संक्रमणकालको यति लामो कालखण्ड पार भईसक्दा समेत सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका र विस्थापित भएकाहरूको मन अझै जोडिन सकेका छैनन्।
नेपाल प्रहरीमा कार्यरत थिए रोल्पा नगरपालिका २ थलिवाङकी लक्ष्मी डाँगीका श्रीमान भक्तबहादुर डाँगी। प्रहरीमा कार्यरत रहेका बेला २०५९ वैशाख २४ गते रोल्पाको गाममा माओवादी आक्रमणमा मारिए। तीन छोरीका बुबा भक्तबहादुरको मृत्यु हुँदा ठूली छोरी ६ वर्ष, माईली ४ र कान्छी छोरी ६ महिनाका थिए। श्रीमानको मृत्युपछि लक्ष्मीको सिन्दुरमात्रै पुछिएन नाबालक छोरीहरूको भविष्यसमेत अन्यौलबीच बित्यो।
‘मेलापर्वमा छोरीहरूले बाबाको सम्झना गर्छन्,’ लक्ष्मीले भनिन्, ‘घरमा मिठोचोखो पाकेका बेला र दशैं–तिहारजस्ता चाडपर्वमा बुबालाई सम्झने गर्छन्।’ घरमा टाँसिएको श्रीमानको फोटो हेरर चित्त बुझाउनेवाहेक अर्को विकल्प नभएको उनको भनाइ छ।
‘दशैं–तिहारमा बाबाको फोटोमा पुजा गर्ने गर्छन्, मेलापर्वमा बुबाको फोटो हेरेर छोरीहरू भक्कानिँदा मलाई पनि रुन मन लाग्छ तर के गर्नु आत्मा रोए पनि छोरीहरूका अगाडि आँसु खसाल्न सक्दिनँ, कर्मलाई दोष दिएर बस्नुसिवाय मसँग अर्को विकल्प पनि के छ र?’ लक्ष्मीले भनिन्।
.jpg)
रोल्पा नगरपालिका १० धवाङका टेकचन सुनार २०५९ जेठ २१ गते सरकारी सेनाद्वारा मारिए। गाईवस्तु चराउन जंगल गएका बेला सेना र माओवादीको भीडन्तमा परे। दुवै पक्षको बीचमा परेका उनलाई सेनाको गोली लाग्यो। मृत्यु हुँदा उनको उमेर ६० वर्षको थियो। मृत्युको १ वर्षपछि मात्रै उनको काजकिरीया भयो। रोजगारीका लागि भारत बस्दै आएका उनका छोराबुहारी द्वन्द्वका कारण नेपाल आउन नसक्ने भएपछि उनको काजकिरीया १ वर्षपछि गरिएको टेकचनकी बुहारी मनिकला सुनारले बताईन्।
मनिकलाका अनुसार द्वन्द्वका कारण उनका ३ छोरा र १ छोरीले लेखपढ गर्न पाएनन।
‘ससुराको हत्या हुँदा घरमा नन्द र सासुमात्रै हुनुहुन्थो। हाम्रो परिवार रोजगारीका लागि भारत गएका थियौ। सासु ससुराले घरमा बसेर खेतीकिसानी गर्ने, म र मेरो श्रीमान भारत गएर कमाइ गर्ने सल्लाहबमोजिम हामी भारत गएका थियौं,’ उनले भनिन्, ‘ससुराको हत्या भएको खबर पनि ढिलै पाइयो। सासुले घर नआईज छोरा तलाइ पनि मार्छन् भनेपछि हामी भारतमै बस्यौं, १ वर्षपछि मात्र हामी भारतबाट आएर काजकिरीया गरेका हाैं।’
आफुलाई विद्रोही माओवादीले मार्ने सुराक पाएपछि श्रीमती र छोरीछोरी लिएर रातारात घर्तीगाउँवाट लिवाङ आएका रणसिंह दमाई अझै घर फर्किएका छैनन। २०५७ देखि लिवाङ बस्दै आएका उनको परिवार ११ जनाको छ। विस्थापित हुनुअघि घर्तीगाउँ बजारमा व्यापार गरेका उनले लिवाङ आउँदा पसल र घरका कुनै पनि सामान ल्याउन पाएनन्।
उनी विस्थापित भएको थाहा पाएपछि माओवादीहरूले उनको घरमा आगो लगाएर सबै सामान जलाई दिएका कारण जन्मथलो फर्कने चाहना हुँदाहुँदै पनि बस्ने बास र खाने गाँसको अभावले सदरमुकाम लिवाङमा वस्नुको विकल्प छैन उनलाई। ‘अझैसम्म हातपाखुरा चलेको छ, त्यसैका भरमा ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दै आएको छु,’ दमाइले भने।
.jpg)
सुनछहरी गाउँपालिका अध्यक्ष आशावहादुर पुनले रोल्पा–रुकुमका प्रायः सबै घरपरिवार द्वन्द्वबाट प्रभावित भएको बताए। साविकको जेल्वाङ गाविसका ७३ जनाको द्वन्द्वमा मृत्यु भएको थियो। एउटै गाविसबाट यति धेरै मानवीय क्षति व्यहोर्ने जेल्वाङ देशकै पहिलो स्थानीय निकाय हो। राज्य पुनरसंरचनापछि सुनछहरी गाउँपालिका बनेको सो क्षेत्रबाट ठूलो संख्याका नागरिकले पीडा भोगेका थिए। हाल सुनछहरी गाउँपालिकाका अध्यक्ष रहेका आशबहादुर पुन आफंै द्वन्द्वमा एउटा आँखा गुमाएका व्यक्ति हुन्। ‘अझै झोलामा औषधि बोकेर हिँड्नुपर्ने बाध्यता छ,’ पुनले भने।
उनले परिवारका परिवारका २ सदस्यसमेत गुमाएका थिए। ‘द्वन्द्वको आफैं घाईते र सहिद परिवारको सदस्य भएकाले द्वन्द्वपीडितको समस्या के–कति छ भन्ने कुरासँग निकै नजिक छु,’ पुनले भने। ३ हजार २ सय ८६ घरधुरी रहेको सुनछहरी गाउँपालिकामा कुनै पनि घरधुरी द्वन्द्वबाट अछुतो नरहेको उनले बताए।
माओवादीले २०५२ फागुन १ गतेवाट सञ्चालन गरेको सशस्त्र युद्धबाट धेरै रोल्पालीको मन यसैगरी उजाडिएको छ। ठूलो संख्यामा धनजनको क्षति भोगेका रोल्पालीहरू हरेक वर्ष आउने फागुन १ ले फेरि त्यस्तै कहाली लाग्दा दिन दोहोर्याउने हो कि भन्ने त्रासमा हुन्छन्।
.jpg)
‘फागुन १ ले माओवादी युद्धको त्रासलाई सम्झाउछ’, द्वन्द्वपीडित सरोकार केन्द्र रोल्पाका अध्यक्ष मानसिं घर्तीले भने, ‘सशस्त्र युद्धको दश वर्ष र शान्तिकालका १५ वर्षसमेत पार भईसके पनि फागुन १ सधैं त्रासको दिन हुने गर्छ।’ आमुल परिवर्तनको नारा दिए पनि यसले नेता र टाठाबाठाको अवस्थामा आमुल परिवर्तन ल्याउनेबाहेकको काम नगरेको उनले बताए।
बेपत्ता पारिएकाहरूका श्रीमतीहरू अन्य द्वन्द्वपीडितको तुलनामा थप पीडामा छन्। मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले श्रीमान मारिएकाहरूले एकल महिलाका नाममा राज्यबाट थोरै सुविधा लिए पनि बेपत्ताका श्रीमतीहरू यो अवसरवाटसमेत वञ्चित रहेको बताइन्। बेपत्ताहरूको कि लास कि श्वासको अवस्था थाहा पाउनुपर्ने उनको माग छ। ‘द्वन्द्वपीडितहरूलाई उसका आफन्तले राखेको राजनैतिक आस्थाका आधारमा कित्ताकाट गरिन्छ र अवसर र सेवा सुविधामा समेत विभेद गरिँदै आएको छ,’ आचार्यले भनिन।
तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र द्वन्द्वमा ९७३ जना रोल्पालीले ज्यान गुमाएका थिए। सो अवधिमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका ३३ जनाको अवस्था अझै अज्ञात छ। घाईते तथा अंगभंग हुने र सम्पति गुमाउने रोल्पालीको लेखाजोखा छैन। पछिल्लो राजनैतिक परिवर्तनमा सबैभन्दा वढी बलिदानी गरेको भए पनि रोल्पाका द्वन्द्वपीडितको अवस्था निकै दयनीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।