धनगढी– थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबारदेखि धनगढीमा सामूहिक अनशन गर्ने भएको छ।
थरुहट नेता लक्ष्मण थारुको नेतृत्वमा धनगढीको क्याम्पस चोक (गुरही) मा सामूहिक आमरण अनशन सुरु गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
अनशन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामति राना, संयुक्त खसक्षेत्री नेपालका सहअध्यक्ष ताराबहादुर बस्नेत सहितको उपस्थिति रहने बताइएको छ।
थरुहट नेता थारुले विभिन्न मागसहित सरकारलाई दवाब दिन आन्दोलनका कार्यक्रम अघि बढाइएको बताए।
उनले भने, ‘आमरण अनशनमा पहिचान पक्षधर राजनीतिक दल, आदिवासी, जनजाति, मगरात, लिम्बुवान, तमुवान, ताम्सालिङ, खम्बुवान, किरात, नेवाः, सेर्पा, मधेशी, खसान, सिल्पीलगायतले ऐक्यबद्धता जनाएका छन्।
संघर्ष समितिले शुक्रबार धनगढीमा विरोध जनप्रदर्शन गर्ने तथा त्यसपछिका दिनमा बन्द तथा आमहडतालका साथै अनिश्चितकालीन बन्द घोषणा गरिने जनाएको छ।
संघर्ष समितिले टीकापुर घटनाका बन्दीको निःशर्त रिहाइ, टीकापुर घटनाको छानबिन गर्नका लागि पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०७२ भदौ ८ गते भएको आगजनी, लुटपाटका घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्नेलगायतका माग राखेको छ।
नेता थारुले सरकारले संघर्ष समितिसँग गरेको ५, ६ र १० बुँदे सहमतिअनुसार नेपालको संविधानको धारा २७४ र अनुसूची ४ संशोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए।
उनले थारु समुदायलाई सुदूरपश्चिम प्रदेश मान्य नभएको र कञ्चनपुरदेखि चितवनसम्मको नौ जिल्लाको एक प्रदेश बनाउनुपर्ने माग दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।