इटहरी– सप्तकोसी नदीम चल्दै आएका जेटबोटहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन् । स्थानीय तहले बढाएको कर र गुन्डागर्दीको डरको कारण देखाउँदै जेटबोट बन्द भएका हुन्।
पछिल्लो समय जेटबोटकै कारण पर्यटकीय गन्तव्य बन्दै गएको चतरास्थित सप्तकोसी नदीमा सुरक्षा र कानुन नभएको भन्दै सञ्चालकहरुले अनिश्चितकालका लागि बन्द गराएका हुन्।
जेटबोट सञ्चालकहरुले बुधवार एक विज्ञप्ति जारी गर्दै राज्यले आवश्यक कानुन र सुरक्षा उपलब्ध नगराएको भन्दै अनिश्चितकालका लागि बन्द गर्ने उल्लेख गरेका हुन्। स्थानीय तहले समन्वय गर्ने भन्दा पनि कर बढाएर दुःख दिने नियत राखेकाले चलाउन नसक्ने अवस्था सृजना भएको उनीहरुको भनाइ छ।
अहिले सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीले सप्तकोसीमा ६ वटा जेटबोट चलाइरहेका छन्।
१८ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट कोसीमा सञ्चालित छन्। जसले तराइ र पहाडको दुरी जलमार्गबाट घटाएर पर्यटनमा समेत टेवा दिँदै आएको छ । सार्वजनिक बिदामा धरान, इटहरी, विराटनगरलगायत पूर्वका सहरबाट आउनेहरूको भीड जेटबोटमा हुने गर्थ्यो।
भोजपुरका स्थानीयले समेत जेटबोट बाटै यात्रा गर्ने गरेका थिए । जसले गर्दा सडक संजाल नपुगेका स्थानीयहरु प्रभावित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।