एजेन्सी– कर्मचारी नै कोरोना भाइरस संक्रमित भएको पाइएपछि सिंगापुरको एक प्रमुख बैंक डीबीएस खाली गरिएको छ। त्यहाँका कर्मचारी सबैलाई बिदा दिइएको छ।
मरिना बे फाइनान्सियल सेन्टरको ४३ औं तलामा रहेको बैंकमा एउटै फ्लोरमा ३ सय कर्मचारी कार्यरत थिए। सबैलाई बुधबार बिदा दिइएको हो।
मंगलबार परीक्षण गर्दा ती कर्मचारीमा भाइरसको संक्रमण भएको पाइएको हो। बैंकले सचेतता अपनाउँदै सबै कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको र संक्रमित कर्मचारी र उनका परिवारलाई हरतरहले सहयोग गर्ने जनाएको छ।
सिंगापुरमा ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनपछि सबैभन्दा बढी संक्रमण देखिएको सिंगापुरमा नै हो। भाइरसको त्रासलाई मध्यनजर गर्दै चीनमा १९ अप्रिलमा हुने भएको फर्मुला वान रेस पनि स्थगित गरिएको छ। अवस्थामा सुधार आएपछि प्रतियोगिताको नयाँ मिति तय गरिने आयोजकले जनाएका छन्।
चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ भने ११०० भन्दा बढीको मृत्यु भइसकेको छ। २० भन्दा बढी देशमा संक्रमण देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।