काठमाडौं– पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन्।
बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
सो क्रममा सभामुख महराले मदनकृष्णलगायत परिवारजनलाई समवेदना व्यक्त गरेका थिए।
नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हुने भन्दै सभामुख महराले प्रकृतिको नियमलाई कसैगरी टार्न नसकिने र धैर्यतापूर्वक सहनुको विकल्प नभएको बताएका सभामुखको निजी सचिवालयले जनाएको छ।
‘जे हुनु भइसक्यो, अब आत्मबल बलियो बनाउनुहोस्,’ सभामुख महराले भने,‘हामी तपाईंको साथमा छौँ।’
भेटमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई दुःख परेको बेला घरमै आएर सान्त्वना दिँदा आफ्नो आत्मबल बढेको बताए।
आफूले परम्परागत र गलत संस्कारहरु तोड्ने प्रयास गरिरहेको भन्दै श्रेष्ठले मृत्यु संस्कारमा केही परिमार्जन गर्न खोजेको पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।