राजविराज- सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको मेची-महाकाली विद्युतीय रेल मार्गको ७ मध्ये ६ खण्डको सर्भे तथा वातावरणीय प्रभाव मुल्यांकन सम्पन्न भएको छ।
रेल विभाग, रेल्वे तथा मेट्रो विकास आयोजना मार्फत वातावरणीय प्रभाव मुल्यांकनका क्षेत्रमा काम गरिरहेको फुलब्राइट कन्सलटेन्सी प्रालिका प्रमुख मञ्जुल कृष्ण मानन्धरले बुधवार राजविराज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएका हुन्।
विद्युतीय रेलमार्गको कुल ७ खण्डमध्ये ६ खण्डको विस्तृत सर्भे, डिजाइन र वातवारणीय प्रभाव मुल्यांकन कार्यसम्पन्न भएको उनले बताए। ९ सय ४५ किलोमिटर रेलमार्गमध्ये बर्दिवास-इनरुवा खण्डको १ सय ३९ दशमलव ४२ किलोमिटरको विस्तृत सर्भे, डिजाइन र वातावरणीय प्रभाव मुल्याकंन कार्य सकिएको उनको भनाइ छ।
प्रदेश २ को महोत्तरी (बर्दिबास)बाट सुरु भएको सर्भे, डिजाइन र वातवारणीय प्रभाव मुल्यांकन कार्य धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ, धनुषाग्राम, गणेशनाथचारनाथ, शहिद नगरपालिका, सिरहाको कर्जनहा, मिर्चैया, गोलबजार, धनगढीमाई, लहान, नरहा, सप्तरीको सुरुङ्गा, खडक, शम्भुनाथ, डाक्नेश्वरी, हनुमाननगर, कञ्चनरुप र राजविराज नगरपालिका तथा रुपनी, महादेवा र तिरहुत गाउँपालिका हुँदै अघि बढिरहेको छ।
यसैगरी, प्रदेश १ को सुनसरीस्थित कोशी, भोक्राहा, नरसिङ्ग गाउँपालिका तथा इनरुवा नगरपालिकामा पुगी उक्त कार्य सम्पन्न हुने मानन्धरले बताए। रेलमार्ग पूरा तयार गर्न कुल ८ सय १४ दशमलव २२ हेक्टर जग्गा आवश्यक पर्ने र त्योमध्ये ७ सय ४१ दशमलव ६७ हेक्टर जग्गा निजी रहेको उनले जानकारी दिए।
रेलमार्गको ९ सय ४५ किलोमिटर क्षेत्रभित्र १४ स्टेशन तयार गरिनेछ। १४ मध्ये १० यात्रुहरुका लागि र ४ स्टेशन सिग्नल स्टेशनका रुपमा रहने उनले बताए। २ वटा स्टेशन मालबाहक सवारी समेत राख्न मिल्ने गरी तयारी हुने मानन्धरले जानकारी दिए।
मेची-महाकाली विद्युतीय रेलमार्ग तयारीका लागि क्षतिपूर्ती र मुआब्जासहित कुल ९६ अरब ८४ करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ। क्षतीपूर्ति र मुआब्जाका लागि रेलवे तथा मेट्रो विकास आयोजनालाई प्रतिवेदन समेत बुझाइएको मानन्धरले बताए।
कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य संघ तथा नागरिक समाजका व्यक्तिहरूलाई सहभागी गराइएको थियो।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।