कठमाडौं- सरकार र सामाजिक अभियान्ताले चलाएको छाउगोठ भत्काउने अभियानले समस्यामा पारेको कर्णालीका सांसद गोपालबहादुर बमले बताएका छन्। सरकार र अभियान्ताले छाउगोठ भत्काएपछि उनीहरुले झन् कष्टकर जीवन जिउनुपरेको बताएका हुन्।
छाउगोठ भत्काउने अभियानलाई समर्थन गर्दै उनले भने, ‘छाउगोठ त भत्काउनुभयो। तर, छाउगोठ बन्नुपर्ने बाध्यता के हुन्? १५ सय छाउगोठ भएत्किएपछि सुदूरपश्चिम र कर्णालीका महिला के गरिरहेका होलान्? यो विषयमा ख्याल गर्नुभएको छ?’
छाउगोठ बनाउनुपर्ने बाध्यताका विषयमा समेत जानकारी लिएर सघाउनुपर्ने उनको धारणा छ। उनले कर्णालीका घरको अवस्थितिलाई दर्शाउँदै भने, ‘कर्णालीमा घर कस्ता हुन्छन्, थाहा छ? जम्मा दुईतले घर हुन्छ। भूइँतलामा गाइगोरु बाँधिन्छ। माथि कतिको एक र कतिका दुईकोठामात्रै हुन्छन्। उनीहरुको किचन, सबैको सुत्ने ठाउँ, पुजाकोठा त्यही हो। एउटै कोठाका विभिन्न स्थानमा मिलाएर छोराबुहारी, सासु-ससुरा र बालबच्चा सुत्छन्।’
उनीहरुले स्यानेटरी प्याडका विषयमा जानकारी नपाएको र पाएपनि किन्ने क्षमता नभएकाले उक्त कोठामा जान समस्या भएको दर्शाए। अभियान्तालाई कटाक्ष गरेर भने, ‘तपाईंहरुको जस्तो कुर्तासलवार र पाइन्ट सट हुँदैनन्। धोतिचोलो लगाउँछन्। महिनावारी हुँदा रगत रोक्ने कसरी?’
छाउगोठ भत्किएपछि स्याउला ओढेर, विभिन्न ठाउँमा लुकेर बस्नुपर्ने बाध्यता आइलागेको उनले जानकारी दिए। उनले भत्काउनु सही भएपनि त्यसको विकल्पका लागि समेत अभियान चलाइदिन आग्रह गरे। उनले भने, ‘छाउगोठ भत्काएपछि उनीहरुका बाध्यता बुझेर घर पुनःनिर्माणमा सघाउनु पर्दैन? खानेपानीका विषयमा आवाज उठाउनु पर्दैन? जसको एउटामात्रै कोठा छ, उसको घर दुईकोठे बनाइदिँदा छाउगोठ किन जानुपर्छ र?’
बमले छाउगोठ भत्काउने अभियानसँगै त्यहाँका महिलाका समस्या, उनीहरुको घरको अवस्था र लवाइखवाइ बुझिदिन आग्रह गरे। उनले भने, ‘छाउगोठसँग मानसिकता भत्काऔं। सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनीहरुका समस्या भत्काउनु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।