भैरहवा- संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको विकासका लागि कृषिमा आधारित लगानी सम्मेलन गर्न लागिएको बताएका छन्।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको मायादेवी गाउँपालिका-८ स्थित लुम्बिनीरोडमा भवन शिलान्यास गर्दै मन्त्री भुसालले कृषिमा किसान तथा आम नागरिकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको बताए।
उनले लगानी कहिले र कसरी गर्न लागिएको भने खुलाएनन्।
मन्त्री भुसालले कृषिमा लाग्ने नागरिकको उद्यम नडुब्ने, मिहिनेत खेर नजाने र यो क्षेत्रमा पसिना बगाउने व्यक्ति सुरक्षित हुन्छन् भन्ने मानसिकताको विकास गराउन सरकार लागिपरेको उल्लेख गरे।
‘करिब ६० वर्ष कृषि क्षेत्रले नगरेका कामहरु अब के गर्नुपर्ने हो, त्यसतर्फ म करिबकरिब खुट्टा टेक्ने स्थानमा छु,’ मन्त्री भुसालले भने, ‘कृषिमा लाग्ने व्यक्ति मर्दैन, उसका सन्तानहरुको जीविकोपार्जन गर्न समस्या हुँदैन भन्नेतर्फ काम अगाडि बढाएका छौं।’
ढुंगा, माटो र कंक्रिटको कुरा गर्ने तर मान्छेको विकासको कुरा नगर्ने कुराले समग्रतामा विकास हुन नसक्ने उनले बताए।
लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको लुम्बिनी न्यूज फेस्टिबलपछि त्यसले नयाँ तरङ्ग ल्याएको उनले बताए। उनले आफ्नो शक्ति आफैं थाहा नपाउने र त्यो अरुले भन्नपुर्ने स्थिति देखिएको बताए।
कार्यक्रममा प्रदेश-५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय‚ फखरुद्दीन खान‚ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ‚ पूर्व सांसद इस्तियाक अहमदलगायतले पत्रकारिता र यसको महत्वका बारेमा बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।