काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमले प्रयोग गर्दै आएको भाषाप्रति फेरि असन्तुष्टि जनाएका छन्। गृह मन्त्रालयमा मंगलबार आयोजित ७० औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आदरार्थी शब्द समाजबाटै हटाउने प्रयास भएको टिप्पणी गरे।
उक्त बैठकमा ओलीले व्यक्त गरेका विचार जस्ताको तस्तैः
हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने चलन छ। हाम्रो सञ्चार माध्यमलाई हजुर भन्दाखेरि साह्रै सानो भएजस्तो लाग्छ। हाम्रा सञ्चार माध्यमलाई अङ्ग्रेजीको कपी गरेर बोलाउँदा‚ मिस्टर म्याडम् भनेर बोलाउन पाउँदा राम्रो लाग्छ। कसैलाई तपाईं भन्नुपर्दा अचम्मको अपमान भएजस्तो लाग्छ आफ्नो। तपाईं भन्ने आदरार्थी शब्द‚ आदरार्थी व्यवहार‚ सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सोझै प्रयास भएको छ।’
अंग्रेजीमा यु भनेपछि पुग्छ। बिबिसीले पहिले सुरू गर्याे- यसो भने‚ त्यसो भनिन्। हाम्रा हजुरबाले यसो भने‚ हजुरआमाले यसो भनिन् भन्दा हुँदैन। अनि त्यो नक्कल गरेर गोपीकृष्ण कहो भन्नुभन्दा अगाडि कहाँका गोपिनी‚ कहाँका गोपी‚ कहाँका कृष्ण‚ किन कहो भनेको थाहा पाउनु राम्रो हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।