भक्तपुर– दुई दिनदेखि परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा ५ जना घाइते भएका छन्।
स्थानीयवासी विदुर थापाको इँटा तथा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने ५ जना घाइते भएका भक्तपुर प्रहरीले जनाएको छ।
घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया सरदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २० वर्षीया सरिना थापा घाइते भएको महानगरीय प्रहरी परिसरका सूचना अधिकृत प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए।
घाइतेहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। अहिले घाइतेको अवस्था सामान्य रहेको छ। घर भत्किँदा १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।