काठमाडौं– ललिता निवासको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेलाई महाअभियोग लगाउन सांसदले माग गरेका छिन् ।
राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरिले उक्त प्रकरणको मुद्दामा अख्तियारले गल्ति गरेको बताउँदै महाअभियोगको माग गरेकी हुन्। 'अख्तियारका प्रमुखमाथि महाअभियोग प्रस्ताव दर्ता गरौं', उनले भनिन्।
न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाइएको प्रति उनले आपत्ति जनाइन् । उनीहरुले जग्गा फिर्ता गर्नुको अर्थ अपराध स्वीकार गरेको रुपमा बुझ्नुपर्ने उनकाे भनाइ छ।
उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नुको सट्टा महाअभियोग लगाउनेतर्फ सोच्नुपर्ने समेत बताइन्। संसद अवरुद्ध पार्नु गलत रहेको बताउँदै उनले विकल्प नखोजेको प्रति आपत्ति जनाइन्। ‘प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक लेनदेनका लागि संसद अवरुद्ध गर्यो । जुन सही भएन । अवरोध हटाउने तरिका पनि ठिक भएन,’ उनको आरोप छ । यसरी अवरोध गर्दा संसदप्रति विश्वास घटिरहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।