काठमाडौं– नेपालको ५ दिने औपचारिक भ्रमणमा आएका बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमेद उच्च स्तरीय भेटघाटमा व्यस्त छन्।
शुक्रबार नेपाल भ्रमणमा आएका अहमेदले नेपाल बसाइँको क्रममा राष्ट्रपतिदेखि प्राधनसेनापतिसम्मलाई भेटेका छन्। अहमेदले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका अहमेदले शितलनिवास गएर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्। त्यस्तै उनले बालुवाटार गएर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार उनीहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको भएको थियो।
भ्रमणकै क्रममा उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षणसमेत गरेका थिए।
सैन्य मुख्यालय जंगीअड्डामा गएर उनले समकक्षी प्रधानसेनापति सँग शिष्टाचार भेटवार्ता गरे। भेटवार्ताको क्रममा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिकसम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यसअघि नेपाली सेनाका प्रधानसेनापति थापाले गत पुस अन्तिम साता बंगलादेशको तीन दिने औपचारिक भ्रमण गरेका थिए। छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिकसम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

अहमेद आजै स्वदेश फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।