काठमाडाैं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा जारी अवरोध एकतर्फी रुपमा खोल्ने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले ललिता निवास जग्गा प्रकरणलाई राजनीतिक मुद्दाको रुपमा लैजाने निर्णय गर्दै सदनको जारी अवरोध खोल्ने निर्णय गरेको सांसद डिला संग्रौलाले बताइन्।
संसदीय दलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय अदालत पुगिसकेकाले संसद अवरुद्ध गरिराख्नुको अर्थ नहुने तर्क उठेपछि कांग्रेस पछाडि हटेको हो ।
कांग्रेसले उपसभापति विजयकुमार गच्छादारलाई ललिता निवास जग्गाकाण्डमा भ्रष्टाचार मुद्दा दायर गरेपछि लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको थियो।
हिजो बसेको पार्टीको बैठकमा पनि अख्तियारले नियत राखेर छानिछानी मुद्दा दायर गरेकोमा संसद अवरुद्ध गर्ने भन्दा राजनीतिक मुद्दाको रुपमा अगाडि बढ्नुपर्ने आवाज उठेको थियो।
कांग्रेसको यो निर्णयसँगै संसदको जारी अवरोध अब खुल्ने भएको छ। प्रतिनिधिसभाकाे बैठक आज दिउँसाे १ बजे डाकिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।