राजविराज- सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि हातपात गरेको आरोपमा पक्राउ परेका तीन जना युवाको रिहाइको माग गर्दै सोमबार नेपाली कांग्रेसले राजविराजमा प्रदर्शन गरेको छ।
स्थानीय सरकार र प्रहरीले नियोजित रुपमा आफ्ना कार्यकर्तालाई पक्राउ गरी झुठो मुद्दा चलाएको कांग्रेसको आरोप छ। निर्दोष व्यक्तिलाई पक्राउ गरी झुठो मुद्दा चलाइएको नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले बताए।
गत माघ २१ गते ज्ञापनपत्र बुझाउन गएका अमरेन्द्र यादव, राजिव मण्डल र अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको उनले बताए।
अमरेन्द्र डाक्नेश्वरी युवा प्रतिष्ठानका अध्यक्ष हुन्। तीनै जनालाई प्रहरीले अमानवीय व्यवहारअन्तर्गत झुठो मुद्दा चलाएको यादवले दाबी गरे।
डाक्नेश्वरी नगरपालिकाले भने कार्यालयबाट बाहिर निस्कने क्रममा मेयर साहमाथि युवाहरुको समूहले गाडी रोकेर हातपात तथा अभद्र व्यवहार गरेको जनाएको छ।
हातपात तथा अभद्र व्यवहार गरेको विरोधमा गत बिहीबार जिल्लाका ९ नगरपालिकासहित १८ वटै स्थानीय तह बन्द गरिएको थियो।
नगरपालिकामा भ्रष्ट्राचार बढेको, सूचना माग्दा नदिएको र उपमेयर इन्दु यादवका पति ओमप्रकाश यादव (असम्बन्धित व्यक्ति) लाई हरेक कार्यपालिका बैठकमा राख्ने गरिएको विषयमा ज्ञापनपत्र बुझाउन जाँदा समय नदिएपछि कार्यालय बाहिर गाडी रोक्नु परेको तर दुर्व्यवहार नगरिएको युवाहरुले बताएका छन्।
सरकार र अख्तियारको पनि विरोध
विरोध प्रदर्शनमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि झुठो मुद्दा चलाएको विषयमा समेत कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन्।
बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिई उपसभापति गच्छेदारलाई फसाउन खोजिएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए।
प्रदर्शनपछि स्थानीय सहिद दशनचोकमा आयोजित विरोध सभामा सभापति यादव, पूर्व मन्त्री हेमराज तातेड, महासमिति सदस्य छेदीलाल चौधरीलगायतले सरकारले राजनितिक पूर्वाग्रह राखेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको कठपुतली भएर नाचिरहेको भन्दै आलोचना गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।