राजविराज- कोरोना भाइरसको संक्रमण रोक्नका लागि सप्तरीमा हेल्थ डेस्कको स्थापना गरिएको छ।
संक्रमित व्यक्ति भित्रन सक्ने प्रमुख मार्ग राजविराज विमानस्थलमा राजविराज नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो।
स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी राखेर स्वास्थ्य परिक्षण तथा परामर्श सेवा सुरु गरिएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले बताए।
हेल्थ डेस्कमा हाललाई ३ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। आवश्यकताअनुसार स्वास्थ्यकर्मी थप गर्ने र समस्या समाधान नभएसम्म त्यसलाई निरन्तरता दिइने यादवले जानकारी दिए।
विमानस्थलमा आएका यात्रुको ज्वरो तथा रुघाखोकी जस्ता कोरोनाका लक्षण देखिए तत्कालै थप परिक्षण र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाउने स्वास्थ्यकर्मी आशिष चौधरीले बताए।
सोमबार ५० जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए।
स्वास्थ्य परिक्षणका साथै यात्रुहरुलाई कोरोनाको लक्षण र बच्ने उपायका बारेमा जानकारी समेत दिने गरिएको उनको भनाइ छ।
यसअघि गत शनिबार तिलाठी–कोईलाडी गाउँपालिकाले समेत भारतीय सिमा क्षेत्र बेल्ही भन्सारमा हेल्थ डेस्क संचालनमा ल्याएको छ।
भारतीय क्षेत्रबाट भित्रिने व्यक्तिहरुमा संक्रमण हुनसक्ने भएकाले पूर्व तयारी स्वरुप हेल्थ डेस्क सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शतिशकुमार सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।