हेटौँडा– अघिल्लो वर्षको तुलनामा यो वर्ष फिल्मको निर्माणको संख्या ह्वात्तै घटेको छ। ०७५ सालको माघसम्म नेपालमा करिब ८० फिल्म रिलिज भइसकेका थिए, यसवर्ष ५० मात्रै भएका छन्।
अझ मंसिर, पुस र माघमा त एकाध बाहेक फिल्म नै रिलिज भएनन्। अघिल्लो शुक्रबारबाट बल्ल दुइ फिल्म रिलिज भए, ‘सेल्फी किङ’ र ‘साङ्लो’। काठमाडौंका केही सिंगल थिएटरमा शनिबार ‘साङ्लो’ हाउसफुल पनि देखियो।
यद्यपी व्यापार अपेक्षित भने छैन। किन घटिरहेको छ यसरी फिल्मको निर्माण? किन दर्शक आइरहेका छैनन् हलमा ?
आइतबार हेटौँडामा आयोजित ‘मोफसलमा चलचित्रको बजार विस्तार’ विषयक अन्तरक्रिया कार्यक्रममा यस विषयमा छलफल भयो। छलफलका क्रममा चलचित्र विकास बोर्डका सदस्य एवम् पुराना फिल्म हल संचालक, वितरक एवम् निर्माता नरेन्द्र महर्जनले भने, ‘नेपाली फिल्म क्षेत्रमा बेलाबेला यस्तो संकट आउने गरेको छ। यसपछाडी धेरै कारण होलान् तर एउटा कारण के हो भने हामीकहाँ एउटा फिल्म राम्रोसँग चल्यो भने अरुले पनि त्यसैलाई पछ्याएर त्यही स्वादको फिल्म बनाउन खोज्छन्। यसरी अर्काको नक्कल गर्न खोज्दा फिल्म डुबिरहेको छ, दर्शक आइरहेका छैनन्।’
उनले इन्टरनेटमा नेटफ्लिक्स, आइफ्लिक्स, युट्युब लगायत माध्यमबाट घरै बसी आफ्नो रोजाइको सिनेमा हेर्न सकिने अवस्था सिर्जना भइरहेका बेला नेपाली फिल्मकर्मीले पनि आफूलाई अपग्रेड गर्न जरुरी रहेको बताए।
त्यस्तै कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले महर्जनकै भनाईसँग सहमती जनाउँदै भने,‘हो, नेपाली फिल्मकर्मी अब अरुको लैलैमा लाग्न छोड्नुपर्छ। वितरकहरुले पनि इगो साँध्ने हिसाबले फिल्म जुधाएर निर्मातालाई डुबाउने काम गर्नुहुन्न।’
चलचित्र पत्रकार संघ मकवानपुर शाखाले आयोजना गरेको चौथो अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले मकवानपुरलाई फिल्म नगरी बनाउन उपुयुक्त हुने धारणा राखे।
प्राकृतिक रुपमा सुन्दर यस जिल्लामा थुप्रै प्राकृतिक रुपमा सुन्दर पर्यटकीय स्थल रहेकाले यहाँ धेरैभन्दा धेरै चलचित्र खिच्ने वातावरण सिर्जना गरे त्यसले मोफसलका दर्शकमा अपनत्वको विकास गराउने बताए।
कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले एक महिनाअघिमात्रै बितेका तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गीय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँ सहयोगको घोषणा ग¥यो।
भट्टराई परिवार सहयोग समितिका संयोजक रहेका राजकुमार राईलाई शाखाका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गरे।
अध्यक्षमा पुनः गौतम
त्यस्तै, संघको अधिवेशनबाट मणिराज गौतम पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भए।
त्यस्तै समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सह–सचिवमा रवीन्द्र गौतम सर्वसम्मत चयन भए। त्यस्तै सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्री, अमृता पराजुली र दिपक सिंह रुम्बा निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।