काठमाडौं- गैरआवासीय नेपाली संघले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफैं पीडित भएको दाबी गरेको छ।
कानुनविपरीत कुनै व्यक्तिका नाममा पुर्याई सोही जग्गालाई संघलाई बेचेको भए त्यसको भागिदार ठगी गर्ने पक्ष नै हुने संघले स्पष्ट पारेको छ।
२०७२ जेठ १४ मा १२ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेर ३ रोपनी जग्गा खरिद गरेको संघका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जग्गाको स्वामित्व संघको नाममा ल्याउने क्रममा मन्त्रिपरिषदको निर्णयअनुसार जग्गा खरिदमा ५० लाख ८८ हजार राजस्व मिनाहा गरिदिएको पनि संघले जनाएको छ।
संघको भवन निर्माण सुरु भएपछि कानुन व्यवसायी दीपकराज जोशीले भवन निर्माण रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। जोशीको विपक्षमा जिल्ला अदालतले फैसला सुनाएपछि उनी उच्च अदालत गएका थिए। उच्च अदालतमा उक्त मुद्धा विचाराधीन छ।
संघको नाममा विधिवत जग्गा आइसकेपछि मात्रै भवन निर्माण सुरु गरिएको संघको दाबी छ। संघले जग्गा वैधानिक रुपमा आफ्नो नाममा आएको जनाए पनि जग्गा बिक्रेताको नाम भने खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।