भैरहवा- रुपन्देहीसहित तराईका जिल्लामा पहिलो चरणमा दादुरा–रुबेला खोप अभियानको सुरुवात हुँदैछ।
रुपन्देहीमा फागुन १ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुन लागेको हाे। स्वास्थ्य कार्यालय रुपन्देहीले अभियानको विषयमा भैरहवामा पत्रकारसँग अन्तरक्रिया गर्दै जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।
प्रथम चरण फागुन फागुन १ देखि ९ गतेसम्म रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र कुमार गिरीले जानकारी दिए। फागुन ११ देखि १७ गतेसम्म दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुनेछ।
फागुन १६ देखि २४ गतेसम्म बाँकी ८ स्थानीय तहहरु मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका, गैडहवा गाउँपालिकामा तेस्रो चरणको अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. गिरीले बताए। रुपन्देहीमा यो अभियानमा ९ महिनादेखि ५ वर्षसम्मका १ लाख ९ हजार ७ सय ९९ जना बालबालिकाले ८ सय १४ खोप केन्द्रबाट दादुर र रुबेलाको खोप लगाउने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए।
नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइने उनले जानकारी दिए। बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्ने शर्माको भनाइ छ।
दादुर–रुबेलाको खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयता प्रमाणीकरण भइ नेपालको राष्ट्रिय नियमन निकायमा दर्ता भएपछि मात्र निःशुल्क लगाइने गरेको छ। यो खोप ९ महिना पुगेपछि पहिलो र १५ महिना पुगेपछि दोस्रो पटक लगाउनुपर्छ। कुनै कारणवश खोप लगाउन छुटेको भए जन्मेको २४ महिना भित्र मात्रा पुरा गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको रेकर्डमा देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।