बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सवमा प्रदर्शन गरिएको बुद्ध मण्डला।
लुम्बिनी- बौद्ध कला र संस्कृतिलाई समुदायसँग जोडेर लैजानुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र प्रदेश ५ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा भएकाे बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सवमा बोल्दै विज्ञहरुले समुदायमा बौद्ध शिक्षाको पालना भएमात्रै यसको सार्थकता हुने जिकिर गरे।
बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम क्षेत्र आसपमा बौद्ध शिक्षाको प्रयोगात्मक अभ्यान आवश्यक रहेको भन्दै उनीहरुले त्यसका लागि विद्यालयतहकै शिक्षाबाट बुद्ध शिक्षा लागू गर्नुपर्ने बताए। आइतबार भएको बौद्ध संस्कृति, दर्शन र नागरिक समुदाय प्यानल छलफलमा बोल्दै वक्ताहरुले बौद्ध दर्शनको मसिनो अध्ययन आम नेपाली समुदायबाटै आवश्यक रहेको बताए। बौद्ध कला र संस्कृतिलाई आम समुदायबीच पुराउनुपर्नेमा सबैको जोड थियो।
बौद्ध कला र संस्कृति विशेषगरी काठमाडाैंका बज्रयानीहरुमा मात्रै सीमित रहेको भन्दै यसको विश्वव्यापीकरण आवश्यक रहेको उनीहरुले बताए। कला र संस्कृतिको विश्वव्यापीकरणले बौद्ध धर्म र दर्शनको महत्त्व झन बढ्दै जाने विज्ञहरुकाे विश्वास छ।
पूर्वसभामुख दमनाथ ढुंगानाले बौद्धका शिक्षालाई समुदायमा प्रयोगात्मक रुपमा कार्यान्वयन गर्नुपर्ने बताए। बुद्धका सन्देशले विश्वव्यापी शान्तिको सन्देश प्रभाव गरेको भन्दै त्यसलाई अझै गहिरो तरिकाले कार्यान्वयन आवश्यक रहेको उनले बताए।
काठमाडाैं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. सुरेशराज शर्माले बौद्ध संस्कृति र दर्शनलाई नागरिक समुदायसँग जोड्न आवश्यक रहेको बताए। मुलुकमा यसका कतिपय अभ्यास भइरहेको भन्दै व्यापक बनाउन जरुरी रहेको उनकाे भनाइ छ। बौद्ध दर्शन र संस्कृतिलाई मुलुकको आथिर्क विकाससंग जोड्नुपर्ने उनको भनाइ छ।
त्यस्तै विज्ञ प्रा. डा. प्रेम कसजुले बौद्ध संस्कृतिको विकासक्रम र यसको प्रभावका विषयलाई प्रष्ट्याए। संस्कृतिको विकासक्रमले मुलुकलाई बलियो बनाएको उनको भनाइ छ। बौद्ध अध्ययन विषयको प्यानल छलफलमा बौद्ध कलाको विश्वव्यापी क्षेत्रका विषयमा बोल्दै आदर्श भट्टराईले कलाको क्षेत्र असिमित रहेको बताए। कलाले नै एकअर्का क्षेत्रलाई नजिक बनाउन सक्ने भन्दै बौद्ध संस्कृतिमा कला महत्त्वपूर्ण रहेको उनले बताए।
अर्का विज्ञ डा. बद्री पोखरेलले बुद्धकी माता मायादेवीको सपनाको विषयमा आफ्ना बिचार राखे। त्यस्तै डा. केशरबहादुर भण्डारी, सञ्जय शाक्य, उर्मिला ताम्रकारले बौद्ध दर्शनका बिभिन्न पाटाहरु केलाए। महोत्सव अन्तर्गत कला र साहित्यतर्फका कार्यक्रम भव्य रुपमा सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले जानकारी दिए। महोत्सवकै सांस्कृतिक कार्यक्रम मोन्लाम पूजा भने सोमबार मात्रै सकिदैछ।
शनिबारबाट लुम्बिनीमा सुरु भएको महोत्सवमा करिव ४ हजार सहभागी भएको विश्वविद्यालयले जनाएको छ। बौद्ध कला, संस्कृतिको प्रदर्शन र मोन्लाम पुजा महोत्सवका आकर्षण थिए। दुई दिन भएको विचार गोष्ठीमा बिभिन्न १६ वक्ताले विभिन्न विषयमा छलफल गरेका छन्। यो कार्यक्रमले लुम्बिनी क्षेत्रमा बौद्ध संस्कृतिको विकास र पर्यटन प्रवर्द्धन एवं भ्रमण वर्षमा सघाउ पुगेको विश्वास रजिष्टार आचार्यले गरे।
विश्वविद्यालयले कला महोत्सव तिलौराकोट, रामग्राम र देवदहमा गर्ने योजना बनाएको छ। चारै पवित्र धाममा बौद्ध संस्कृतिको गतिबिधि बढाउनका लागि महोत्सव गर्ने योजना बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।