इटहरी- नेपाली कांग्रेसको विरोधको कारण प्रदेश १, प्रदेशसभाको हिउँदे अधिवेशन प्रभावित भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण आइतबार प्रदेशसभाको बैठक स्थगित भएको छ।
आफ्नो दलका उपसभापति विजयकुमार गच्छदारलाई एकतर्फी मुद्दा चलाएको र सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका नेतालाई भने अनुसन्धान नै नगरी उन्मुक्ति दिइएको भन्दै कांग्रेसले प्रदेशसभा अवरुद्ध गरेको हो।
आइतबार नै नेपाली कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघले राकेजुलुस निकालेको छ। सुनसरीको इटहरीमा बालुवाटार जग्गा कीर्ते प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु तथा नेकपा नेताहरूलाई बचाउन लागिएको भन्दै नेविसङ्घले खबरदारी गर्न राके जुलुस निकालेको नेताहरूले दाबी गरेका छन्।
गच्छादारको गृहनगर दुहबीमा शनिबार नेपाल तरुण दलले पनि जुलुस निकालेर अख्तियारको कदमको विरोध जनाएको थियो।
उपसभापति गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही हिसाबले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै कांग्रेसले सडकदेखि सदनसम्म आन्दोलनका कार्यक्रम अगाडि बढाइरहेको छ।
प्रतिनिधिसभा प्रदेशसभा हुँदै सडकमा पनि कांग्रेसले अख्तियार सरकारको मतियार भएको भन्दै आन्दोलन गरिरहेको छ।
सरकारले सर्वसत्तावाद लागू गरेको भन्दै आफूहरूले सदन अवरुद्ध गर्न बाध्य भएको कांग्रेस प्रदेश १ का संसदीय दलका सचेतक सूयर्माराज राईले बताए। आइतबार सभा अवरुद्ध भएपछि २७ माघ दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।
यता इटहरीमा भएको राँकेजुलुसमा भने प्रहरीले हस्तक्षेप गरेको छ। साझ ६ बजे इटहरीस्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुस १ सय मिटर अगाडि पुग्न नपाउँदै प्रहरीको हस्तक्षेपमा परेको थियो। तर प्रहरीको निगरानी एकातिर मात्र भएकोले इटहरीको चारै कुनाबाट एकसाथ जुलुस निस्किएको थियो।
जुलुसमा नेविसंघका निवर्तमान केन्द्रिय उपसभापति बिकास केसी सहित इटहरी कांग्रेस सभापति हेमकर्ण पौडेलको सहभागिता रहेको थियो।
अख्तियारले सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने निर्णयको नेतृत्व गर्ने पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा जग्गाको स्वामित्व आफ्नो नाममा लिने नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जोगाएकोले निष्पक्ष छानबिनका लागि दबाब दिन जुलुस गरिएको नेविसंघका नेता विकास केसीले बताए।
अनावश्यक आरोप लगाउँदै रिसइभी साँध्ने गरी कांग्रेस नेताहरुलाई फसाउन अख्तियार सरकारको मतियार बन्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।