काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध लागेको जबरजस्ती करणी उद्योगको अन्तिम सुनुवाइ सुरु भएको छ।
प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो। आइतबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका छन्।
जिल्ला सरकारी वकिल कार्यालयका अुनसार चन्द्रकान्त खनाल, उमाकान्त पौडेलसहित अरु दुई महिला जिल्ला न्यायाधीवक्ताहरुले पीडितको तर्फबाट बहस सकेका छन्। अब महराका तर्फबाट सोमबार बहस हुनेछ।
महराका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने छ। उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ।
तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। गत असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।