काठमाडौं- नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन भएको आरोप लगाएका छन्।
आयोगले कांग्रेस उपसभापति विजय गच्छदारलाई ललिता निवास जग्गा अनियमिततामा मुद्दा चलाएपछि त्यसविरुद्ध विरोधमा उत्रिएका कांग्रेसका भ्रातृ संस्थाले यस्तो आरोप लगाएका हुन्।
पार्टीको केन्द्रीय नीतिअनुसार नै सडकमा उत्रेका भ्रातृ संस्थाले पार्टीका उपसभापति समेत रहेका विजयकुमार गच्छदारको बचाउमा आफ्नो विरोध नभएको प्रष्ट पारे।
आइतबारको विरोधको नेतृत्व तरुण दलले गरेको थियो।तरुण दलको विरोधमा बोल्ने भ्रातृ संस्थाका नेताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्तारुढ दलको भ्रातृ संस्था भएको आरोप लगाए।
नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले पार्टी उपसभापति गच्छदारको बचाउमा आफ्नो पार्टी नलागेको दाबी गरिन्।
‘निर्णय गर्ने मन्त्रिपरिषद्का अध्यक्षलाई उन्मुक्ति नहुने तर मन्त्रीलाई मुद्दा दायर गर्ने विभेदविरुद्ध हाम्रो आन्दोलन हो,’ उनले भनिन्, 'नेकपाको सरकार लोकतन्त्र मास्न उद्धत छ।' नेतृ रेग्मीले नेकपाको केन्द्रीय कमिटी बैठकमा चलेको बहसको समेत विरोध गरिन्। निर्वाचन प्रणालीले भ्रष्टचार समेत बढेको भन्दै केन्द्रीय कमिटी बैठकमा प्रणाली सुधारको मत आएका थिए। नेकपा केन्द्रीय कमिटीमा भएको बैठकमा उठेको विषयप्रति उनले आपत्ति जनाइन्।

नेपाल विद्यार्थी संघ अध्यक्ष राजीव ढुंगानाले संवैधानिक निकाय अख्तियारले आफ्नो दायित्व बिर्सेको आरोप लगाए। अनियमितताको अनुसन्धान गर्ने निकाय पार्टीको भ्रातृ संस्था जस्तो भएको भन्दै आपत्ति जनाए। उनले भने, ‘कानुन मान्छौं।तर, विभेदका विरुद्ध लड्छौं।’
तरुण दल अध्यक्ष जीतजंग बस्नेतले अख्तियार नेकपाको दल विशेष जस्तो भएको आरोप लगाउँदै बालुवाटार सार्न सुझाव दिए। अख्तियार प्रमुखका विरुद्धमा समेत आन्दोलन गर्नुपर्ने परिस्थिति आएको बस्नेतले बताए।
मन्त्रिपरिषद्मा निर्णय गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री र टिप्पणी उठाउने मुख्य सचिवलाई पनि मुद्दा दायर हुनुपर्ने उनको माग छ। जग्गा फिर्ता गर्ने नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको प्रति समेत भ्रातृ संस्थाका नेताले आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।