काठमाडौं– संघीय संसदको प्रतिनिधि सभा आइतबार पनि अवरुद्ध भएको छ। प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सभा मंगलबार बस्ने गरी स्थगित गरिएको छ।
सभाको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले तीन दिनदेखि अवरुद्ध रहेको भन्दै संसदलाई प्रभावकारी बनाउन सहयोगको अपेक्षा गरे। तर, कांग्रेसले अवरोध कायम राख्यो। उनले भने, ‘आजसमेत गरेर तीन दिन बैठक अवरोध भइसकेको छ। संसदलाई प्रभावकारी बनाउने हामी सबैको दायित्व हो। १४ गते मलाई विपक्षी दलका नेताले समेत निष्पक्ष भएर काम गर्नुहोस्, भन्नुभएको छ।’
उनले प्रतिपक्षी कांग्रेसलाई संविधानको धारा १०५ सम्झाए। उक्त धारामा अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नपाइने उल्लेख छ । उनले भने, ‘त्यसैले यहाँबाट निकास निस्कन सक्दैन। संवैधानिक निकायले गरेको निर्णयलाई यहाँबाट सच्याउन सकिँदैन।’
सभामुख सापकोटाले जनताका भनाइ राख्न संसदको प्रयोग गर्न स्मरण गराए । उनले दुईदिन अवरोध गरेर सन्देश दिइसकेको भन्दै संसद सुचारु गर्न आग्रह गरे। उनले भने, ‘अरु सांसदले पनि बोल्न पाउनुपर्छ भन्नुभएको छ। तपाईंहरु राम्रो जानकार हुनुहुन्छ। जन निर्वाचित सर्वोच्च संस्थामा छौं। दुई दिनसम्म भरपुर कुरा राख्नुभएको छ।’
कांंग्रेस नेता दिलेन्द्र बडुले बोल्न चाहे पनि माइक पाएनन् । सभाामुखले कुरा बुझिसकेको भन्दै माइक दिएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।