काठमाडाैं- ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई उनमुक्ती दिएकाे र अन्य राजनीतिक दलका नेतालाई पूर्वाग्रहका आधारमा मुद्दा चलाएकाे विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भातृ संस्था तरुण दलले काठमाडाैंमा प्रदर्शन गरेकाे छ। दरुण दलले आइतबार काठमाडाैंकाे माइतीघरदेखि नयाँबानेश्वरसम्म विराेध प्रदर्शन गरेकाे हाे।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्था विराेधमा उत्रिएका छन्।
तरुण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएकाे प्रदर्शनमा अख्तियार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारा लागेका थिए। प्रदर्शनमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना पनि सहभागी भए।
विराेध प्रदर्शनमा ‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो। विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन। नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार’जस्ता नारा लगाइएकाे थियाे।
ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति गच्छदारविरुद्ध मुद्दा दर्ता भएपछि कांग्रेसले सदन र सडकबाट विरोध जनाएकाे छ। अख्तियारले ललिता निवास प्रकरणमा एउटै निर्णयमा सहभागी केहीलाई मुद्दा दायर गरेको र केहीलाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले पनि विरोध जनाउँदै आएकाे छ।
नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने बयान दिएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दर्ता गरेको थिएन। यस्तै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारका मन्त्री गच्छदारलाई मुद्दा लगाउने तर नेपाललाई मुद्दा नलगाउने अख्तियारको कदमलाई कांग्रेसले विभेदपूर्ण भन्दै विरोध गरेकाे छ।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।