काठमाडाैं- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड दिएका छन्।
सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा आज राजधानीमा आयोजना गरेको सगरमाथा राष्ट्रिय संवादको उद्घाटन गर्दै उनले हाम्रा हिमाल, जीवन पद्धति र पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटमा परेकाे बताए।
जलवायु परिवर्तनले परेका असर र प्रभावलाई घटाउन तथा अनुकूलनका लागि उत्थानशीलताको क्षमता अभिवृद्धि हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपाललगायत अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको जोखिममा रहेका बताए। आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको सन्दर्भमा जलवायु परिवर्तन र त्यसका असरका विविध पक्षमा चर्चा गर्दै उनले पर्वतीय राष्ट्र नेपाल हिन्दूकुश क्षेत्रमा रहेको र विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशृङ्खलामध्ये आठवटा नेपालमा रहेकाले नेपालीको शिर गर्वले उच्च रहेको भन्दै तिनलाई जलवायु परिवर्तनका दुष्परिणामबाट जोगाउन अपरिहार्य भएको बताए।




सरकारले जलवायु परिवर्तनको क्षेत्रमा भोगेका समस्या हल गर्न राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ स्वीकृत गरेको, उक्त नीतिमा कृषि र खाद्य सुरक्षा, वन, जैविक विविधता र जलाधार, जलस्रोत र ऊर्जा, प्राकृतिक र सांस्कृतिक सम्पदामा आधारित पर्यटन, ग्रामीण र शहरी बस्ती, भौतिक पूर्वाधार, उद्योग र यातायात, खानेपानी र सरसफाइ, जलवायुजन्य प्रकोप व्यवस्थापनसहित आठवटा आयामलाई समावेश गरेको उनले जानकारी दिए।
जलवायुमैत्री विकास दिगो र भरपर्दो हुने, विकास र वातावरणबीचको समन्वयमार्फत दिगो विकासका लक्ष्य प्राप्त गर्नु नेपालको आवश्यकता र दायित्व भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले जता मन लाग्यो उतै बाटो खन्ने डोजर संस्कृतिका बारेमा पनि नियमन गर्नु अनिवार्य नै भइसकेको बताए।
उद्घाटन सत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रत्येक दुई वर्षमा आयोजना गरिने पहिलो संस्करणको संवादको औचित्य, महत्व र आवश्यकताबारे जानकारी दिँदै त्यसमा नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामलाहरू एवं समस्याबारे सघन छलफल गरिने बताए।
मुलुकलाई अतिकम विकसित राष्ट्रको सूचीबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न सबैको साझा प्रयास जरुरी भएको बताउँदै उनले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य भट्नुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।