काठमाडौं– इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलम थुनामै रहने भएका छन्।
जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए। उच्चले शुक्रबार जिल्ला अदालतकै फैसला सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको हो।
आलम पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशीको इजलाशले आलमलाइै थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको हो । गत कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाएको थियो।
यसअघि आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय, रौतहटले माग गर्दै मुद्दा दायर गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।