इटहरी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई मात्र मुद्दा चलाइनु गलत भएको बताएका छन्। प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा महतले राजनीतिक पुर्वाग्रहका आधारमा मुद्दा चलाइएको बताए।
गच्छदार मन्त्री हुँदा क्याबिनेटले पास गरेको विषयमा एकजना मन्त्रीमात्र फसाउने र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई बचाउने गरी मुद्दा चलाइएको उनको बुझाइ छ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा संचारमन्त्रीले डिफेन्स गर्नु भनेको पार्टीगत देखिन्छ।’ उनले भने, ‘यो पक्षपातीपूर्ण ढंगले काम भयो।’
एमसिसीको विषयमा बोल्दै उनले जनतामा भ्रम फैलाउने गरी काम भएको बताए। वास्तविक कुरा जानकारी नभई विवाद झिक्ने काम भएको उनको तर्क छ।
‘यो संयुक्त राष्ट्र संघले अनुमोदन गरेको विषय हो।’ उनले भने, ‘वर्षमा ५ अर्ब डलर दिने कुरा हो। त्यो पनि निश्चित मापदण्ड पूरा गरेका मुलुकमा एमसिसी लागू गर्ने भनिएको छ। यहाँ कतै नभएको राष्ट्रियताको कुरा निकालिएको छ।
सुशील कोइराला प्रधानमन्त्री र आफू अर्थमन्त्री हुँदा नै यातायात र उर्जामा काम गर्ने गरी एमसिसी स्वीकृत गर्ने काम भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।