काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सचिवालयमा पुगेर वृक्षरोपण गरेका छन्। शुक्रबार बिहान ११ बजे ठमेलस्थित सार्क सचिवालयको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले रूद्राक्षको बिरूवा रोपेका हुन् ।
ओलीले सचिवालयको निरीक्षण र उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गरेका थिए। नेपाल सार्ककाे अध्यक्ष मुलुक हो ।
सन् १९८५ डिसेम्बर ८मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन्। सार्क स्थापनामा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महत्वपूर्ण छ। रहमानले सन् १९७०को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारिक समूह गठनको प्रस्ताव राखेका थिए।
सार्कको अठारौं सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण त्यसयता कुनै पनि सम्मेलन हुन सकेका छैनन्।
पछिल्लो समय भारतले सार्कभन्दा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) लाई बढ्ता प्राथमिकता दिन थालेको छ। बिम्स्टेकको चौथो सम्मेलन सन् २०१८ मा काठमाडौंमा सम्पन्न भएको थियो।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।