काठमाडाैं– नेपाल कानुन व्यवसायी परिषद पार्षदको शनिबार हुने निर्वाचनमा बाग्मती प्रदेशबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन्। उनले लाेकतान्त्रिक कानुन व्यवसायी समूहबाट उम्मेदवारी दिएका हुन्। सातै प्रदेशमा पार्षद छान्ने गरि परिषद्ले निर्वाचन गर्न लागेको हो।
न्यौपानेले परिषदलाई नवीनतम् ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। ‘२५ वर्षको बार काउन्सिल ६ महिनाको बच्चाको अवस्थामा छ,’उनले भने,‘सर्वोच्च अदालतका अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतलाई लाइसेन्स दिने अधिकार त लियो, तर त्योभन्दा बढी केही गर्न सकेन।’
अदालतले लिने परीक्षा र कानुन अध्ययन अध्यापन हुने कलेजले लिने परीक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहल गर्ने उनले बताए। न्यौपानेले कानुन व्यवसायीको शुद्धिकरण र व्यवसायिक मर्यादामा जोड दिँदै विद्यमान आचारसंहिताबाट कारबाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐनमा संशोधन गरी अधिकार थपेर कानुनी व्यवस्था गर्न पहल गर्ने बताए।
२०५६ मा नेपाल प्राध्यापक संघका महासचिवको जिम्मेवारी पूरा गरेका न्यौपाने प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष भएसमेत भएका थिए।
न्यौपानेका प्रतिस्पर्धी सत्तारुढ नेकपाका तर्फबाट वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।