काठमाडौं– नेपालमा धेरै अभिनेत्रीहरु बिहेपछि फिल्म क्षेत्रबाट टाढा भए। त्यसैले होला, जब–जब कोही अभिनेत्रीको बिहे हुन्छ, त्यसपछि उसको करिअर समाप्त भएकोसम्म टिप्पणी हुन थाल्छ।
बिहेपछि आफूले ९ महिना फिल्ममा काम नगर्दा अनेक प्रश्नहरुको सामना गर्नुपरेको केही दिनअघि मात्रै अभिनेत्री वर्षा राउतले पत्रकारसामु बताएकी थिइन्।
उनलाई त बिहे नफापेकोसम्म टिप्पणी हुन थालेको थियो रे! अहिले उनी लगालग फिल्म साइन गरिरहेकी छिन्।
त्यस्तै अहिले यही प्रश्न अभिनेत्री निशा अधिकारीलाई पनि उठ्न थालेको छ। क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेकी निशाले २१ महिनाअघि अमेरिकामा छोरा जन्माइन्।
अहिले पनि उनी छोराकै स्याहारसुसारमा व्यस्त छिन्। बुधबार साँझ काठमाडौंमा आयोजित ‘सेल्फी किङ’ फिल्मको प्रिमियर शोमा सहभागी हुन पुगेकी उनलाई पत्रकारले सोधे– ‘फिल्ममा कहिले कमब्याक हुने?’
जवाफमा उनले मुस्कुराउँदै भनिन्, ‘म अहिले फुल टाइम मदर भएर बसिरहेको छु। अब विस्तारै–विस्तारै कमब्याक गर्ने सोचचाँही छ। वान्स एन आर्टिस्ट, अलवेज एन आर्टिस्ट। तर, कहिले, कसरी त्यो सोचिसकेको छैन।’
उनले पत्रकारसँगको कुराकानीमा फिल्म राम्रो लागेको प्रतिक्रियासमेत दिइन्। ‘हामीलाई लाग्छ, हाम्रो लाइफमा पनि समय छ भनेर। तर, खासमा समय भन्ने कुरा कति महत्वपुर्ण हुन्छ भन्ने यो फिल्ममा दर्शाइएको छ,’ उनले भनिन्।
निशा अभिनित पछिल्लो फिल्म ‘कुम्भ करण’ हो। उनी आर्फ निर्माता भएर फिल्म ‘झ्यानाकुटी’ पनि बनाएकी थिइन्। तर, फिल्मले बजारमा अपेक्षित व्यापार गर्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।