बोल्ड कन्टेन्ट, अनौठा काम, व्यक्तिगत कथा आदि कारणले सलमान खानको चर्चित टेलिभिजन शो ‘बिग बोस’को पछिल्लो सिजन ‘बिग बोस–१३’ अघिल्ला सिजनहरुभन्दा अलग देखियो। सिजन–१२ फ्लप भएपछि सिजन १३ लाइ हिट बनाउन यसको क्रिएटिभ टिमले अनेक फर्मुला अपनायो। अरुभन्दा फरक भनेर हल्ला गरियो। धेरै कुरामा परिवर्तन गरियो।
बिग बोसको यो सिजनमा यस्ता धेरै दृश्यहरु देखिए जो यसअघि यहाँ कहिल्यै देखिएको थिएन।
बोल्ड थिम
प्रतिष्पर्धीको ‘बोल्ड अभिनय’ यो सिर्जनको सबैभन्दा महत्वुर्ण विन्दु देखियो। भलै यो ‘बोल्डनेस’भित्र स्विमिङ पुलको रोमान्स, विकिनी लुक, खुलेआम रोमान्टिक हुनेजस्ता हर्कतहरु समावेश थिएनन्। यि त यसअघिकै सिजनमा पनि देखिएकै थिए। तर बिग बोस–१३ का प्रतिष्पर्धीलाई विल्कुलै फरक हिसाबले बोल्ड अवतारमा उतारिएको हेर्न पाइयो। यसपल्ट प्रतिष्पर्धीहरु बोल्ड थिएनन् तर मेकर्सले नै फर्मेट यस्तो बनाएका थिए कि स्क्रिनमा ‘बोल्डनेस’ देखियोस्।
बेड सेयरिङको नियम
बिग बोसको इतिहासमै पहिलोपल्ट यस सिजनमा महिला–पुरुष प्रतिष्पर्धीको ‘बेड सेयरिङ’को नियम बनाइयो। सुरुमा सिजनका महिला र पुरुष प्रतिष्पर्धीलाई एउटा ‘टास्क’ अर्थात् जिम्मेवारीमार्फत बेर्ड पार्टनर बनाइयो। अघिल्ला सिजनहरुमा आफै जोडी बन्थे, यसपल्ट क्रिएटिभ शैलीमा जोडी बनाउने प्रयत्न गरियो। शो मा शहनाज–सिद्धार्थ, पारस–माहिराले यसरी बेड सेयर गर्छन्।
प्रतिष्पर्धीको निकटता
सिद्धार्थ–शहनाज त झन् बेडमात्रै होइन कम्बल नै सेयर गर्छन्। यसकारण विकेन्डको वारमा उनीहरुको मजाक पनि उडाइयो। यद्यपी उनीहरुबीचको सम्बन्ध भने मित्रताको मात्रै हो। तर, स्क्रिनमा दुवै अंगालो मारेर सुत्छन्, अति नजिक भएर कुराकानी गर्छन्। त्यस्तै अर्का प्रतिष्पर्धी पारस छाबडा आफ्नो प्लेब्वाय इमेज देखाउनका लागि माहिरा शर्माले ‘हुँदैन’ भन्दाभन्दै पनि उनलाई किस गर्छन्।
अश्लिलताको आरोप
बिग बोस पारिवारिक शो हो। परिवारका सबै सँगै बसेर हेर्छन्। यस्तो शोमा प्रतिष्पर्धीले खुलेआम बेड सेयरिङदेखि किसिङसम्मका हर्कत गरेपछि करणी सेना यसको विरोधमा उत्रियो। शो को सुरुवातमा प्रतिष्पर्धीलाई एउटा काम दिइएको थियो जहाँ प्रतिष्पर्धीलाई मुखले सामान ‘होल्ड’ गरेर अर्कोलाई ‘पास’ गर्थे। दृश्यलाई कतिपयले भद्दा भने। यस्ता धेरै दृश्यका कारण शोमाथि अश्लिलता फैलाएको आरोपमात्रै लागेन, शो प्रसारणमा रोक लगाउनुपर्ने माग समेत उठ्यो।
यद्यपी यि विरोध र प्रदर्शनका बाबजुद ‘बिग बोस–१३’ लाई भारतीय मिडियाले सबैभन्दा हिट सिजन भनेर लेखिरहेका छन्। आजतकका अनुसार यो सिजनले टीआरपीमा नयाँ रेकर्ड राखेको छ। सिजन १३ को यो सफलतासँगै यसका मेकरले बोल्डनेसको मात्रा अब झन् बढाउने अड्कल समेत हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।