काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सरकारले दुरुपयोग गरेको आरोप लगाएको छ।
पार्टीका उसभापति विजयकुमार गच्छदारलाई ललिता निवासको जग्गा अनियमितता काण्डमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आक्रोशित बनेको कांग्रेसले यस्तो आरोप लगाएको हो।
'माधव र बाबुरामलाई दोषी देखाइएन। प्रधानमन्त्रीय प्रणालीमा प्रमको स्वीकृति विना निर्णय हुँदैन,' पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'मन्त्रपरिषद् बैठकका निर्णयको भागीदार मन्त्री मात्रै दोषी हुनु र प्रधानमन्त्रीले उन्मुक्ति पाउनु बदनियतपूर्ण छ।'
कांग्रेसले जग्गा फिर्ता गर्छु भनेपछि मुद्दा नचलाउने गरी नेकपा महासचिव विष्णु पौडेलका पुत्रको पक्षमा गरिएको पद्धति संसारमै नभएको समेत बताएको छ। 'कसैले बच्चा अपहरण गरेर ४ वर्षपछि ल्याए, कारबाही गरिन्छ कि फूलमाला लगाइन्छ?,' प्रवक्ता शर्माले भने, 'यो सामान्य विषय होइन। गम्भीर विषय हो। ठूलाबडाले सजाय नपाउने गलत नजिर स्थापित गर्न खोजिएको छ।'
मुद्दालाई डिरेल गर्न संवैधानिक निकायलाई दूरुपयोग गरिएको समेत कांग्रेसको आरोप छ। 'दायर भएको मुद्दामा कानुनी र राजनीतिक उपचार खोजिन्छ। समाजलाई पार्टीले तथ्य प्रस्तुत गर्छ,' प्रवक्ता शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।