काठमाडौं– लामो समय कला पत्रकारिता गरेका अशोक प्यासी राई एक महिनाअघि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का महाप्रबन्धक नियुक्त भए। नियुक्तीको एकमहिनापछि बुधबार उनले आफ्नै कार्यलयमा संस्थान सुधारका नयाँ योजना सार्वजनिक गरे।
‘अबको १ सय दिनभित्र म संस्थानको मुहार परिवर्तन गर्छु,’ जमलस्थित संस्थानमा पत्रकारहरुसँग कुरा गर्दै उनले दाबी गरे, ‘संस्थानलाई गर्व गर्न लायक बनाउँछु। अबको १ सय दिनपछि संस्थानभित्र प्रवेश गर्दा त्यो परिवर्तनको आभास पक्का गराउनेछु।’
संस्थानको सेवाप्रवाह, कार्यशैली, सजावट, सहजता, व्यवहार सबैमा यी कुरा झल्कने उनको दाबी थियो। संस्थानको वर्तमान अवस्था, सुधारका योजना, भावी कार्यक्रम र रणनीतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक राईले हाल संस्थान संगीन अवस्थाबाट गुज्रिरहेको बताए।
‘अथाह सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग र व्यवस्थापन हुन नसक्दा संस्थान यो अवस्थामा पुगेको हो’, उनले भने।
मुुलुकले भ्रमण वर्ष २०२० मनाइरहेकाले नेपाल आएका पर्यटकका लागि आगामी वैशाखदेखि ‘कल्चरल शो’ सुरु गर्ने समेत जानकारी दिए।
‘यसले पर्यटकलाई नेपालको मौलिक संस्कृति बुझाउन भूमिका खेल्नेछ,’ उनले भने।
नेपालसँग कूटनीतिकसम्बन्ध स्थापना भएका मुलुकमा नेपाली लोक संस्कृतिको प्रचार एवं प्रवद्र्धनका लागि सांस्कृतिक सहचारी नियुक्त गर्न सम्बन्धित निकायसँग पहल थालिने जानकारी समेत उनले दिए।
विभिन्न मुलुकसँग लोक संस्कृति आदानप्रदानका लागि कार्यक्रम आयोजना गर्ने, सार्कस्तरीय सांस्कृतिक महोत्सव गर्ने पनि उनको योजना छ।
सातै प्रदेशमा प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गर्ने तयारी रहेको बताउँदै उनले भने, ‘संस्थानमा डिजिटल शाखा स्थापना गरी ऐतिहासिक एवं महत्वपूर्ण दस्तावेज डिजिटलाइज गरी ई–लाइब्रेरी समेत निर्माण गर्ने योजनामा छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।