बेइजिङ- चीनमा एक शिशु जन्मिएको ३० घण्टा पनि नपुग्दै कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनकी आमा पनि कोरोना भाइरसबाट संक्रमित थिइन्।
गत फेब्रुअरी २ मा जन्मिएको उक्त शिशु कसरी भाइरसबाट संक्रमित भए भन्ने विषयमा भने अझै स्पष्ट नभएको डाक्टरहरूले बताए।
जन्मदा ३.२५ किलो भएका उक्त शिशुमा कोरोना देखिएको ३० घण्टापछि सफल उपचार गरिएको छ।
कसरी संक्रमित भए शिशु?
मेडिकल विज्ञले भने शिशुमा गर्भमै छँदा उक्त भाइरस सरेको हुनसक्ने बताएका छन्।
‘यसले हामीलाई आमाबाट बच्चामा कोरोना भाइरस कसरी सर्छ भन्ने बारेमा अध्ययन गर्ने अवसर दिएको छ।’ वुहान चिल्ड्रेन हस्पिटलका प्रमुख फिजिसियन जेङ लिङ्कोङले जानकारी दिए।
जन्म भइसकेपछि कोरोना संक्रमित आमासँगै रहेकाले पनि शिशुमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ।
कोलम्बिया युनिभर्सिटीका एपिडेमियोलोजिस्ट स्टेफेन मोर्स भन्छन्‚ ‘आमाले खोक्दा बच्चाले उक्त भाइरसका ड्रपलेट्सहरू श्वासप्रश्वासका माध्यमले बच्चामा सरेको पनि हुनसक्छ।’
योसँगै चीनमा २ जना भरखर जन्मिएका शिशुहरू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी भएको छ।
अहिलेसम्म कोरोना भाइरसका कारण करीब ५ सय ६५ जनाको मृत्यु भइसकेको छ भने २८ हजार २ सय ७३ जना संक्रमित भएका छन्।
चीनभन्दा बाहिरका २५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये २ सय ५० भन्दा धेरै मानिसहरू संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।