काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्व मन्त्री विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा लगाइएको भन्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
कांग्रेस सांसदहरुले बालुवाटारस्थित ललिता निवास क्याम्पको अवचलनमा गच्छदारलाई राजनीतिक प्रतिशोध साँध्न उपसभापति गच्छदारविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै कांग्रेसका सांसदहरूले बैठक अवरोध गरेका थिए।
कांग्रेस सांसद पुष्पा भूषाले विशेष समयमा बोल्दै मुलुकको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने गरी मुद्दा दायर गरिएको बताएकी थिइन्। उनले भनिन्, ‘संवैधानिक अंग पनि सरकार लाचार छायाँ भएको पुष्टि भएको छ। सरकारको राजनीतिक पूर्वाग्रह साँध्ने निकाय भएको छ।’
उनले गच्छदारलाई मुद्दा दायर गर्नु लोकतान्त्रिक अभ्यास नरहेको बताइन्।
उनले प्रधानमन्त्रीय प्रणालीमा एक मन्त्रीलाई भ्रष्टाचार मुद्दा चलाउनु नितान्त राजनीतिक कारण भएको दाबी गर्दै उनले भनिन्, ‘माधव नेपाल प्रधानमन्त्री हुँदा भौतिक तथा योजना मन्त्री रहेका गच्छादारलाई मन्त्री परिषद्को नीतिगत निर्णयका लागि दोषी बताइएको छ। यो निर्णय क्याबिनेटले निर्णय गरेको हो। क्याबिनेटमा प्रमुख प्रधानमन्त्री हुन्छ। प्रधानमन्त्री माधव नेपाल हुनुहुन्थ्यो।’
प्रधानमन्त्रीको चाहना र स्वीकृति बिना मुख्यसचिवले उक्त फाइल मन्त्रिपरिषद्मा नलैजाने भएकाले गच्छदार मात्रै दोषी नरहेको उनको दाबी छ। उनले प्रश्न गरिन्, ‘विजय गच्छदारले भन्ने बित्तिकै प्रस्ताव पारित हुनुपर्छ भन्ने छ र?’
यो प्रकरणको मुद्दा विरोधाभाष र हास्यास्पद ढंगले निर्माण भएको उनको जिकिर थियो। विभेदकारी नीति अख्तियार भएको उल्लेख गर्दै सांसद भूषालले भनिन्, ‘कुनै मन्त्रीलाई भ्रष्टाचारी करार गर्ने तर प्रधानमन्त्रीलाई नगर्ने? लोकतन्त्रमा सबै बराबर हुनुपर्छ।’
गच्छदारमाथिको मुद्दा लोकतान्त्रिक व्यवस्थाविरुद्ध प्रहार रहेको भन्दै उनले संसद अवरुद्ध भएको बताइन्।
कांग्रेस सांसदहरुले उठेर बैठक अवरुद्ध पारे।
यसपछि सभामुख अग्नि सापकोटाले अवरोध भइरहेको अवस्थामा बैठक संचालन गर्नु वाञ्छनीय हुँदैन भन्दै बैठक अन्त्यको घोषणा गरे।
कांग्रेस सांसदको संसदमा अवरोधपछि प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।