राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि स्थानीय युवाहरुले हातपात तथा अभद्र व्यवहार गरेको विरोधमा बिहीबार जिल्लाका सम्पूर्ण स्थानीय तह बन्द भएका छन्।
कार्यालयबाट बाहिर निस्कने क्रममा गत मंगलबार मेयर साहमाथि युवाहरुको समूहले गाडी रोकेर हातपात तथा अभद्र व्यवहार गरेको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै जिल्लाका ९ नगरपालिकासहित १८ वटै स्थानीय तह बन्द गरिएको निमित्त जिल्ला समन्वय अधिकारी नवराज खड्काले बताए। हरेक स्थानीय तहले सूचना प्रकाशित गरेर कार्यालय बन्द भएको जानकारी गराएका छन्।
नगरपालिकामा भ्रष्टाचार बढेको, सूचना माग्दा नदिएको र उपमेयर इन्दु यादवका पति ओमप्रकास यादव (असम्वन्धित ब्यक्ति) लाई हरेक कार्यापालिका बैठकमा राख्ने गरिएको विषयमा ज्ञापन पत्र बुझाउन जाँदा समय नदिएको भन्दै डाकनेश्वरी युवा प्रतिष्ठानमा आबद्ध युवाहरुले कार्यालयबाहिर मेयर साहको गाडी रोकेका थिए।

छलफलकै क्रममा उपमेयरका पति ओमप्रकाससमेत आई विवाद गर्न थालेपछि सोही विवाद बढ्दै गएर ठेलमठेलको अवस्था आएको युवाहरुले बताएका छन्। मेयर साहमाथि दुब्र्यवहारमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिष्ठानका अध्यक्ष अमरेन्द्र यादवसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।