काठमाडौं- नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छिन्।
बिहीबार बिहान प्रचण्डलाई भेट्न पोलिट उनको निवास खुमलटार पुगेकी थिइन्। भेटवार्तामा दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
भेटमा प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्राहनीय भएको बताएका थिए। ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ,’ प्रचण्डको भनाइ थियो, ‘तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’
प्रचण्डले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताएका थिए। भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरेकी थिइन्। उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।