बुटवल- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटरमा डोजर चलेको छ। प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने जनाएसँगै सटर भत्काउन बिहानैदेखि डोजर चलाइएको हो।
अस्पताल प्रशासनले पटक–पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न व्यवसायीलाई आग्रह गरे पनि अटेर गरेपछि अस्पतालका सटरमा बिहीबार बिहान डोजर चलाइएको हो।
अस्पतालका ७३ वटा सटर छन्। जिल्ला अदालत रुपन्देहीमा मुद्दा परेकामा अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो।
अल्टिमेटम दिँइदा पनि व्यवसायीले सटर खाली गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
अस्पतालको चरणबद्ध विकासका लागि अस्पतालका सटर खाली गर्ने योजनाअनुसार सटर भत्काईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।