काठमाडौं- बालुवाटारस्थित ललितानिवासको जग्गा अपचलनमा नेकपा नेताहरुलाई उन्मुक्ति दिइएको आरोप कांग्रेस नेताहरुले लगाएका छन्।
राजनीतिक पूर्वाग्रहका आधारमा सत्तारुढ पार्टीका नेतालाई आयोगले उन्मुक्ति दिएको उनीहरुकाे भनाइ छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाले संशय र प्रश्न उब्जाएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उल्लेख गरेका छन्।
.jpg)
पाैडेलले ट्वीटरमा लेखेका छन्, 'अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?'
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटै मन्त्रीमण्डलका प्रधानमन्त्री रहेका नेकपा नेता माधवकुमार नेपाल जोगिएको तर उनकै पालाका मन्त्री कांग्रेस नेता विजय गच्छदारलाई मुद्दा चलाइएको बताएका छन्। उनको भनाइ छ, 'माधवकुमार नेपालको पालामा नीतिगत निर्णय l मुद्दा कसलाई ? विजय गच्छदारलाई! ' यसैगरी नेकपा महासचिव विष्णु पौडेललाई लक्ष्य गर्दै उनको ट्विट छ, 'एक पूर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जाl'
शर्माले 'एनिमल फार्म´मा लेखक जर्ज अर्बेलकाे भनाइलाई प्रस्तुत गरेका छन्, 'सबै जनावर समान हुन्छन्। तर केही जनावर अरुभन्दा बढी समान हुन्छन्।'
.jpg)
कांग्रेस नेता धनराज गुरुङ पनि अख्तियारको मुद्दामा राजनीतिक पूर्वाग्रह देख्छन्। उनले आफ्नो धारणासहित प्रश्न गरेका छन्, 'ललिता निवास काण्ड: मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालीन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्ताव निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी? क्याविनेट सिष्टममा प्रधानमन्त्रीले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन सक्दैन। यति साह्रै निर्वस्त्र किन अख्तियार?'

यसैगरी, कांग्रेस नेता रामहरि खतिवडाले पनि असन्तुष्टि जनाएका छन्। उनले ट्वीटरमा भनेका छन्, ‘निर्णय गर्ने प्रधानमन्त्री माधवकुमार नेपाललाई माफी, जग्गाको लालपुर्जा लिने मन्त्रीलाई सम्मान, मुद्दा विजय गच्छदारलाई? यो देश कानुनी राज्यको देश, सबैले सरकारलाई जय भनौं।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।